राष्ट्रपतिमा कांग्रेस नेता पौडेल र एमालेका नेम्वाङको उम्मेदवारी
Saturday, February 25th, 2023, 8:35 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १३ फागुन
फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै एमालेले पनि उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार खडा गरेको छ । एमालेले २५ गतेसम्म आफ्नो पक्षमा नतिजा ल्याउने रणनीतिका साथ तत्काल सरकारमै रहेर राष्ट्रपतिमा उम्मेदवार खडा गर्ने निर्णय गरेको हो । यो बीचमा एमालेले आठ दलीय गठबन्धन भत्काएर आफ्नो पक्षमा नतिजा ल्याउन भरपुर प्रयास गर्ने निश्चित छ ।
शनिबार निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरमा पुगेर पौडेलले आफ्नो उम्मेदवारी दर्ता गराए । राष्ट्रपति पदमा पौडेलको प्रस्तावकमा शेरबहादुर देउवा, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोक कुमार राई र अब्दुल खान रहेका छन् । यस्तै समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे रहेका छन् ।
पौडेललाई माओवादी केन्द्र, जसपा, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् । पौडेलअघि नै नेम्वाङले संसद भवन पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । नेम्वाङको प्रस्तावकमा केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरुङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहेका छन् । यस्तै समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहेका छन् । एमालेले कांग्रेसबाहेकका सबै दललाई राष्ट्रपतिमा सघाउन पत्राचार गर्ने निर्णय पनि गरेको छ ।
राष्ट्रपतिका उम्मेदवार नेम्वाङले आफ्नो नाममा राष्ट्रिय सहमति हुने विश्वासका साथ आफू राष्ट्रपतिको उम्मेदवार भएको बताएका छन् । उम्मेदवारी दर्ता गराइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले आफू सबै हिसावले संविधानको परिपालना गर्न लाग्ने दाबी गरे । उनले स्वस्थ प्रतिष्पर्धालाई सम्मान र जगेर्ना गर्दै देशमा स्वस्थ आधार र वातावरण तयार गर्न आफ्नो भूमिका हुने बताए । उनले व्यवहारमा जनताको राष्ट्रपति अनुभुत हुने ढंगले काम गर्ने प्रतिवद्धता जनाए ।
संविधानसभा अध्यक्ष एवं पूर्व सभामुखसमेत रहेका उनले संविधानको संरक्षक हुने अवसर पाएको भन्दै संविधानको रक्षा गर्न लागि पर्ने बताए । यसैगरी पौडेलले भावी आफू सर्वसम्मत चयन हुने विश्वास ब्यक्त गरेका छन् । उम्मेदवारी दर्ता गराए पछि पौडेलले राष्ट्रपतिमा सर्वसम्मत हुने विश्वास व्यक्त गरेका हुन् ।
संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र संस्थागत गर्न अहिलेको चुनौती भएकाले आफ्नो भूमिका त्यसमा केन्द्रित हुने उनको भनाइ छ ।
यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस १० गतेको सहमति अनुसार नै राष्ट्रपति चयन हुने विश्वास व्यक्त गरेका छन् । आठ दलीय गठबन्धन नरेको टिप्पणी गरेका अध्यक्ष ओलीले सहमतिबाट कोही भाग्न नसक्ने पनि बताएका छन् । ओलीले पूर्व सहमतिअनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति अनुसार नै राष्ट्रपतिमा एमाले उम्मेदवार नेम्वाङलाई समर्थन गर्नेसमेत विश्वाससमेत व्यक्त गरेका छन् ।
मनोनयन दर्तासँगै दलहरुले आफ्नो पक्षमा माहोल बनाउन दौडधुप थालेका छन् उम्मेदवार पौडेल उम्मेदवारी दर्ताअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न पुगेका थिए । पौडेलले लामिछानेको हात्तिगौडा स्थित निवासमै पुगेर राष्ट्रपति चुनावमा आफूलाई सहयोग गर्न आग्रह गरेका हुन् ।
यद्यपि लामिछानेले सहयोग गर्नेबारे स्पष्ट जवाफ दिएनन् । उनले पार्टीमा छलफल गरेर आवश्यक निर्णय लिने जवाफ पौडेललाई फर्काएको लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले जानकारी दिए । यस्तै एमालेले पनि सबै दललाई मत दिन आग्रहसहित पत्राचार गर्ने भएको छ । एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले कांग्रेसको आफ्नै उम्मेदवार रहेकाले उसलाई भने पत्राचार नगरिने बताए ।
यसैगरी नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठकबाटै सबै दलसँग मत माग्ने निर्णय गरिसकेको छ ।