नेपालगन्ज उद्योग वाणिज्य संघको ३१ औं साधारणसभा सम्पन्न
Saturday, February 25th, 2023, 8:37 pm
Kalpristha
तेज बहादुर खड्का
नेपालगन्ज,१३ फागुन
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले देशको आर्थिक अवस्था जर्जर बन्दै गएकोले सो मा तत्काल सुधारका लागि सरकार गम्भीर बन्नुपर्ने बताएका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघको ३१ औं साधारणसभाको शनिवार नेपालगन्ज मा उदघाटन गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले बैंकको व्याज, लगानीको अवस्था र खस्कदैं गएको व्यापार व्यवसायका कारण निजि क्षेत्र धराशायी बनेको बताए । उनले आर्थिक क्षेत्रमा यति ठुलो संकट आइसक्दा पनि सरकारले त्यसको सामाधानका लागि कुनै ठोस योजना र कार्यक्रम अगाडी सार्न नसकेकोले आउने दिन अझै कष्टकर हुनसक्ने चेतावनी पनि दिए ।
देशको आर्थिक अवस्थाका बारेमा पटक पटक सरकारको ध्यानाकर्षण गराईएपनि ठोस कदम नचालिएको गुनासो गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले देशभरिबाटै उद्योगी व्यवसायीले दिनदिनै आफ्नो पिडा र दुख शेयर गर्ने गरेको बताए । यति धेरै प्रतिकुल अवस्थामा पनि देशका उद्योगी व्यवसायीले निरन्तर उद्योग व्यवसाय सञ्चालन गर्दै आएकोमा उनले सो कार्यको सराहना गरे । सो अवसरमा बोल्दै लुम्बिनी प्रदेश सरकारका मन्त्रीहरु दुर्गा प्रसाद चौधरी र भण्डारी लाल यादवले प्रदेश सरकारले निजि क्षेत्रको समस्या समाधान गरेर आर्थिक अवस्था सुदृढ गर्ने योजना बनाईरहेको बताए ।
उनिहरुले आर्थिक विकासका लागि उद्योग, कलकारखाना र व्यापार व्यवसाय फस्टाउने वातावरण बनाउनुको विकल्प नरहेको पनि प्रष्ट पारे । सो अवसरमा बोल्दै नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहीद मन्सुरीले सीमावर्ति क्षेत्रको उद्योग व्यवसाय तस्करी र अवैध आयातका कारण धरासायी भएको बताए । उनले सरकारी निकायले नाकाहरुमा कडाई नगर्दा देनिक ५ देखि १० करोडको तस्करी भैहरेकोले स्थानीय उत्पादन र व्यापारले बजार नपाएको गुनासो गरे ।
नाकामा कडाई नगरिएमा एक एक गरेर उद्योगी व्यवसायी पलायन हुँदै जाने र यो क्षेत्र ठुलो आर्थिक संकटमा फस्ने उहाँले बताए । सो अवसरमा आफ्नो धारणा राख्ने नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष कन्हैयालाल टण्डन, कृष्ण प्रसाद श्रेष्ठ, संघका महासचिव चिरन्जीवि ओली लगायत अधिकांश उद्योगी व्यापारीका अगुवाहरुले बैंक र सरकारी नितीकै कारण आर्थिक अवस्था जर्जर हुँदै गएकोले निजि क्षेत्रको सुझाव अनुसार तत्काल सुधारका कामहरु शुरु गर्नु पर्नेमा जोड दिएका थिए ।
सो अवसरमा गंगा रोजिन टरपेनटाइनलाई उत्कृष्ठ निर्यातकर्ता, बाहुबली ग्लोबल हर्बललाई तेस्रो देशमा सबैभन्दा बढी निर्यात गर्ने उद्योग, निरु चौधरीलाई उत्कृष्ठ महिला उद्यमी, टण्डन प्लाष्टिक उद्योगलाई उत्कृष्ट उद्योग र उत्कष्ट आर्थिक पत्रकारका रुपमा गोरखापत्र दैनिकका नेपालगन्ज समाचारदाता सिराज खानलाई सम्मान गरिएको थियो ।