स्वास्थ्य विमा अभिकर्ता नहुँदा डोल्पामा स्वास्थ्य विमाको पहुँच वाहिर डोल्पाका नागरिक
Sunday, February 26th, 2023, 5:32 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा, फागुन १४
जिल्लामा स्वास्थ्य विमा अभिकर्ता नहुँदा जिल्लाका अधिकाँश नागरिक स्वास्थ्य विमाको पहुँच भन्दा वाहिर रहेका छन् । हाल सम्म जिल्लामा स्वास्थ्य विमा गर्नेको संख्या २ हजार ६ सय ६० रहेको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालय अन्तरगत स्वास्थ्य विमा वोर्डका संयोजक राजन डाँगीका अनुसार स्वास्थ्य विमा गर्नेहरुमा महिला १ हजार ३ सय ७८ पुरुष १ हजार २ सय ८२ जना रहेका छन् । आठ वटा स्थानीय तह रहेको जिल्लामा विमा अभिकर्ताहरुले काम गर्न छाडेपछि समस्या भएको जिल्ला स्वास्थ्य विमा वोडले जनाएको छ ।
माघ मसान्त सम्म ६ सय ९४ घरधुरीका २ हजार ६ सय ६० जनाले मात्र बिमा गरेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । विमित संख्या मध्ये जेष्ठ नागरिक महिलाको संख्या ६५ र पुरुषको संख्या ५२ रहेको छ । अति गरीवको संख्या पुरुष ४ र महिला ३ जना छन । यसै गरी पूर्णरुपमा अशक्त घरपरिवारका पुरुष ३७ र महिला ३६ जनाले विमा गर्नु भएको छ । महिला स्वास्थ्य स्वयंसेविकाका १ सय ३ परिवार संख्यालाई सरकारले ५० प्रतिशत विमा गरि दिएको छ भने बाँकी सबैलाई सयमा सय प्रतिशत बिमा सरकारले गरेको स्वास्थ्य विमा संयोजक राजन डाँगीले बताए ।
आठ ओटा स्थानीय तह रहेको जिल्लामा सदरमुकाम दुनै आसपासका ठूलीभेरी नगरपालिका र त्रिपुरासुन्दरी नगरपालिकाका केहि जेष्ठ पुरुष तथा महिलाहरुले विमा गरेपनि अधिकाँश पालिकाका नागरिकले स्वास्थ्य विमा नगरेको पाइएको छ । विमा वोर्ड संयोजक डाँगीका अनुसार पालिकाहरुमा नियुक्त गरिएका विमा अभिकर्ताहरुले नै काम छाडेपछि समस्या भएको छ । स्वास्थ्य सेवा कार्यालयमा रहेको स्वास्थ्य बिमा बोर्ड अन्तरगत स्थायी संरचना नभएकाले स्वास्थ्य मन्त्रालयबाट काजमा १ जना र स्वाथ्य विमा बोर्डवाट १ जना गरी दुई जना भएपनि १ जना दैलेखमा काजमा गएदेखि फिर्ता भएक छैनन् जसले गर्दा काममा समस्या भएको जनाइएको छ ।