फेरी रोकियो घोराहीमा सडक कालोपत्रको काम ?
Sunday, February 26th, 2023, 6:03 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
दाङ, १४ फागुन
लामो समयदेखि अलपत्र रहेको घोराहीको भानुचोकदेखि–गुलरिया पार्कसम्म सडक कालोपत्रे गर्ने काम फेरि रोकिएको छ । सडक निर्माण कम्पनीले गुणस्तरहीन सामग्री प्रयोग गरेर सडक निर्माणको काम गरेको आशंका लागेपछि घोराही उप–महानगरपालिकाले कालोपत्रे निर्माणको काम तत्काललाई रोक्न निर्देशन दिएको छ ।
सडक कालोपत्रे गर्ने क्रममा सडकको लेवलिङ नमिलेको र कालोपत्रे गरिएको सडक गिट्टीहरू नमिलेपछि परीक्षणका लागि तत्काललाई कालोपत्रेको काम रोकिएको घोराही उपमहानगरपालिका पूर्वाधार महाशाखाका प्रमुख इन्जिनियर युवराज पौडेलले जानकारी दिए । ‘घोराहीको मुख्यचोकदेखि गुलरिया पार्कसम्मको सडक कालोपत्रेका क्रममा त्यस्तो नदेखिएपछि निर्माण व्यवसायीलाई काम रोक्न निर्देशन दिएका हौँ ।’ कालोपत्रेको एउटै प्रविधिअनुसार दामोदरचोकदेखि नयाँ बजार आर्मी व्यारेकसम्म पिच गर्दा सडक राम्रो भए पनि त्यही प्रविधिअनुसार यता काम गर्दा सडक राम्रो नदेखिएको उनले बताए । जसले गर्दा सडकको गुणस्तरमा आशंका उत्पन्न भएको पूर्वाधार महाशाखा प्रमुख पौडेलले बताए ।
सडक विस्तारसँगै कालोपत्रे गर्ने जिम्मा वेष्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सनले पाएको थियो २ करोड ३१ लाख ५५ हजार ३ सय ६० रूपैयाँमा ठेक्का सम्झौता गरे पनि ठेकेदारको चरम लापरबाहीका कारण लामो समयदेखि सडक निर्माणको काम रोकिँदै आएको छ । निर्माण कम्पनीकै लापरबाहीका कारण घोराही बजारकै सहिदगेटदेखि जिल्ला प्रशासन कार्यालयसम्म र नेपाल बैंकदेखि सहिद गेटसम्मको सडक पनि अलपत्र परेको छ ।
आत्रेय/पूर्णचन्द्र/बस्नेत जेभीले नाला र फुटपाथ तथा वेष्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सनले सडक पिच गर्ने कामको जिम्मा पाएको थियो । गत असारसमा सक्ने गरी वेष्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सनले जिम्मा लिए पनि अहिलेसम्म काम सडक कालोपत्रे गर्ने काम सकेको छैन । निर्माण कम्पनीले १ करोड १५ लाख ३४ हजार ९ सय २४ रूपैयाँमा काम गर्ने गरी २०७७ माघ ८ गते सम्झौता गरेको थियो । सम्झौताअनुसार ठेकदार कम्पनीले काम नगर्दा अहिले सवारी अवागमनसँगै व्यवसाय गर्ने व्यवसायी र पैदल हिड्नेलाई समेत समस्या हुने गरेको छ ।