अब उद्योग वाणिज्य संघको उपाध्यक्षमा महिला अनिवार्य
Monday, February 27th, 2023, 5:45 am
Kalpristha
शंसोधित विधान अनुसार एकजना महिला उपाध्यक्ष र १ जना सदस्य थप गरि २७ सदस्यीय कार्यसमिति बनाउने भएको छ । यसका साथै कार्यसमितिका सबै पदाधिकारीहरुले प्रत्यक्ष निर्वाचन लड्नुपर्ने छ ।
लक्ष्मी तिमिल्सेना
नेपालगन्ज, १४ फागुन
महिला उपाध्यक्ष अनिवार्य राख्नु पर्ने नियम बनाउँदैं नेपालगन्ज उद्योग वाणिज्य संघको विधान संसोधन गरिएको छ । यसले अब प्रत्यक्ष निर्वाचनमा महिला उपाध्यक्ष अनुवार्य हुनु पर्ने व्यवस्था गरेको छ । यसअघि संघको विधानमा महिलाको सहभागिता प्रत्यक्ष निर्वाचनमा व्यवस्था गरिएको थिएन । जसलाई संघले संसोधन गर्दै महिला सहभागितालाई नेतृत्व तहमा अनिवार्य गरेको छ ।
शनिबार नेपालगन्जमा सम्पन्न आफ्नो ३१ औं साधारण सभाबाट संघले विधान शंसोधन गरेको हो ।
शंसोधित विधान अनुसार एकजना महिला उपाध्यक्ष र १ जना सदस्य थप गरि २७ सदस्यीय कार्यसमिति बनाउने भएको छ । यसका साथै कार्यसमितिका सबै पदाधिकारीहरुले प्रत्यक्ष निर्वाचन लड्नुपर्ने छ ।
‘हामीले मुख्य रुपमा विधान शंसोधन गरेका छौं । जस अनुसार हामीले हाम्रो कार्यसमिति विस्तार गरेका छौं भने प्रत्यक्ष निर्वाचनबाट मात्रै पदाधिकारी चयन गर्ने व्यवस्था उल्लेख गरेका छौं । साथै हामीले नेतृत्व पंक्तिमा पनि महिला आउनुपर्छ भन्ने हेतुले अनिवार्य रुपमा महिला उपाध्यक्षको पद समेत हामीले व्यवस्था गरेका छौं ।’– नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ भन्छन् ।
‘अहिलेको राज्यको समावेशी सिद्वान्त अनुसार सवै क्षेत्रमा समानुपातिक प्रतिनिधित्वको सवाल अत्यन्तै जोडदार रुपमा उठ्ने गरेको छ । यहि परिस्थितीलाई मध्यनजर गर्दै नेपालगन्ज उद्योग वाणिज्य संघले पनि विगत लामो समयदेखिको महिलाको न्युन उपस्थिती कम गर्न यो व्यवस्था गरेको हो ।’– भन्छन्, नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरन्जिवी ओली ।
‘महिलाहरु प्रत्यक्ष चुनावबाट जितेर जाँदा पनि पदाधिकारीमा जित्न नसक्ने जुन परिस्थिती छ । त्यो कम गर्न पनि यो व्यवस्थाले महत्वपुर्ण भुमिका खेल्ने छ । महिलालाई आरक्षण दिएर जुन पार्टीबाट आएपनि महिला नै आउनका लागि यो जरुरी पनि थियो ।’
यस प्रकारको व्यवस्थाले केहि समयपछि महिलाहरु खुला रुपमा पुरुषहरुसँगै प्रतिस्प्रर्धा गरेर पनि आउन सक्ने परिस्थितीको सिर्जना हुने उनले दावि गरे ।

शंसोधित विधान अनुसार एकजना महिला उपाध्यक्ष अनिवार्य भएसंगै महिला व्यवसायी उत्साहित भएका छन् । पुरुष व्यवसायी भन्दा बढी मत ल्यायर चुनाव जित्दा पनि मानोनित गर्दाखेरी राजनीतिक संगठनहरुले पुरुषलाई मात्रै पदाधिकारी दिने गरेको नेपालगन्ज उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य विन्दु चर्ति बताउँछिन् ।
‘हामी महिलाहरु क्षमता र दक्षताका कारणले भन्दापनि राजनितिक पहुँच कम भएकै कारण पछाडि पारिन्छौं । त्यसकारण हामीले नै प्रत्यक्ष निर्वाचनमा जानका निमित्त विधान शंसोधनका लागि दवाव सिर्जना गरेका हौं । मलाई लाग्छ यसले अबका दिनमा महिलालाई पनि नेतृत्व तहमा बसेर काम गर्ने अवस्था सिर्जना हुने छ । र त्यसका लागि कुनैपनि पार्टी वा सँगठनले छेक्ने छैन ।’– नेपालगन्ज उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य चर्ति भन्छिन् ।
‘लामो अनुभवका बावजुद पनि हामी मुख्य कार्यकारी पदमा पुग्न सकिरहेका थिएनौ । तर, यो व्यवस्थाले महिलालाई पनि कार्यकारी पदसम्म पुग्ने बाटो सहज बनाईदिएको छ ।’
पुरुष सरह महिला पनि सक्षम छन् भनेर देखाउने अवसर यसले महिलालाई दिने र महिलाको कुसल नेतृत्वले महिला सशक्तिकरणमा सकारात्मक प्रभाव पर्ने महिला उद्यमी संघ नेपाल लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्मा बताउँछिन् ।
‘नेपालगन्ज उद्योग वाणिज्य संघले विधान संसोधन गरेर महिला उपाध्यक्षको सवालमा जुन व्यवस्था गरेको छ, यो स्वागतयोग्य कुरा हो ।
साधारण सभामा महिला उद्यमी संघलाई नसम्झेपनि महिला व्यवसायीका हितमा जुन निर्णय गरेको छ । त्यसलाई हामी हार्दिकताका साथ स्वागत गर्द छौं ।’
उनका अनुसार महिलाको कुशल नेतृत्वले महिला सशक्तिकरणमा सकारात्मक प्रभाव पार्नेछ र अन्य क्षेत्रमा पनि महिलालाई नेतृत्व लिन बल पु¥याउने छ ।
यस अघि पदाधिकारीमा अध्यक्ष र उपाध्यक्षको मात्रै चुनाब हुने गर्दथ्यो भने शंसोधित विधान अनुसार अब हुने निर्वाचनबाट एक जना अध्यक्ष र तिन जना उपाध्यक्ष लगायत सबै पदाधिकारीहरुले प्रत्यक्ष निर्वाचन लड्नु पर्ने छ ।
यस कार्यकालमा विन्दु चर्ति मगर र मन्दीरा पाण्डे गरि दुई जना प्रत्यक्ष निर्वाचित र दुई जना मनोनित गरि ४ जना महिला सदस्य मात्रै छन् । विधान शंसोधन पछि आगामी दिनमा नेपालगन्ज उद्योग वाणिज्य संघको नेतृत्व पंक्तिमा महिला सहभागिता बढ्ने अपेक्षा गरिएको छ ।