नेपालको लगातार पाँचौ जित
Monday, February 27th, 2023, 6:51 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १५ फागुन
यूएईमा सुरु आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले जितका साथ सिरिजको सुरुआत गरेको छ । नेपालले सिरिजको पहिलो खेलमा पपुवा न्युगिनी(पीएनजी)लाई पराजित गरेको छ । यूएईस्थित दुबई अन्तराष्ट्रिय मैदानमा भएको खेलमा नेपालले पीएनजीलाई ४ विकेटले पराजित गरेको हो ।
पीएनजीले दिएको २ सय ४ रनको लक्ष्य नेपालले ४५.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ६९ बलमा ५६ रनको अर्धशतकीय ईनिङ खेले । कुशलले ५ चौका प्रहार गरेका थिए ।
अर्का ओपनर आसिफ शेखले ४४ रन बनाए । दुई ओपनरका बीचमा ७६ रनको साझेदारी भएको थियो । मध्येक्रमका ब्याटर आरिफ शेखले ६२ बलमा ३८ रन बनाए । उनले १ चौका र १ छक्का प्रहार गरेका थिए । कप्तान रोहितकुमार पौडेलले २० रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए ।
पीएनजीका लागि कप्तान असद भालाले ३ तथा नर्मन भानुवा र सेसे बाउले समान ११ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन बनाएको हो । पीएनजीका लागि चाड सोपारले अविजित ३६ रन बनाउँदा कप्तान असद भाला ३६ रनमा गुलशन झाबाट आउट भए । सेसे बाउ पनि झाकै बलमा ३१ रनमा आउट भए ।
किप्लिन डोरिगाले २९ रन बनाउँदा नर्मन भानुवाले २५ रन बनाएर कुशल मल्लको बलमा आउट भए । हिरि हिरिले १० रन बनाउँदा आजको खेलमा एकदिवसीय अन्तराष्ट्रियमा डेब्यु गरेका प्रतिश जी.सीले आउट गराए । नेपालका लागि गुलशन झाले ३ तथा कुशल मल्लले २ विकेट लिए । करण केसी,सोमपाल कामी,प्रतिश जी।सीको नाममा समान १र१ विकेट रह्यो ।
दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा तीव्र गतिका बलर प्रतिश जी।सीले पपुवा न्युगिनी विरुद्ध डेब्यू गरेका हुन् । पहिलो पटक राष्ट्रिय टिममा परेका प्रतिशले पहिलो खेलमा नै डेब्यु गरेका हुन् । प्रतिश नेपालबाट एकदिवसीय अन्तराष्ट्रियमा नेपालका लागि डेब्यू गर्ने ३७ औं खेलाडी हुन् ।