नेपालगन्जमा सन्चालित पुनःस्थापना केन्द्रहरुको अनुगमन
Monday, February 27th, 2023, 7:07 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १५ फागुन
नेपालगन्जमा सन्चालित पुनःस्थापना केन्द्रहरुको अनुगमन गरिएको छ । नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट नेतृत्वको टोलीले नगरमा सन्चालित पाँच वटा पुनःस्थापना गृहहरुको अनुगमन गरेको हो ।
साथी संस्थाको पुनःस्थापना गृह, साना हातहरु नेपालको पुनःस्थापना गृह, शान्ति पुनःस्थापना गृह, माइती नेपालको पुनःस्थापना गृह र शक्ति समूहको पुनःस्थापना गृहको अनुगमन गरिएको छ । नगर उप–प्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, वडा नम्बर ६ का वडा अध्यक्ष समिरप्रताप सिंह, वडा नम्बर २० का वडा अध्यक्ष कौशल धोवी, अनुगमन कार्यदल संयोजक महिला विकास अधिकृत पवित्रा पुरी तथा सदस्यद्वय निवर्तमान उपप्रमुख उमा थापा मगर र प्रेस सल्लाहकार नवीन गिरी अनुगमनमा पुगेका थिए ।

…..
नेपालगन्ज उप–महानगरपालिका भारतसंग सीमा जोडिएको पालिका भएकाले सीमा नाकामा मानव बेचविखन प्रेरित क्रियाकलाप, महिला तथा बालबालिका ओसारपसार, जाखिमपूर्ण यात्रा गरिरहेकाहरुको चाप बढी देखिने गरेको छ । शंकास्पद गतिविधि र क्रियाकलाप देखिएकाहरुलाई आवश्यक सोधपुछ र खोजनीति गरेर शंकास्पद व्यक्तिहरु र पीडितहरुलाई अल्पकालीन आश्रम दिन पुनःस्थापना गृह सन्चालनमा छन् । पुनःस्थापना गृहहरुले पीडितहरुलाई कानुनी उपचारमा सहयोग संगसंगै समाजमा पुनःस्थापना गर्न उल्लेख्य भूमिका खेल्दै आएका छन् ।
नेपालगन्जमा जमुनाहा, खडैंचा, शिवपुुरी लगायतका नाकाहरुबाट पीडितहरुको उद्दार र शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिने गरिएको छ । अनुगमनका क्रममा पुनःस्थापना गृहहरुको संस्थागत अवस्था, भौतिक पूर्वाधार, सन्चालन कार्यविधि लगायत विद्यमान समस्याहरुबारे जानकारी लिइएको थियो । पुनःस्थापना गृहहरु सीमिति स्रोत साधनका बाबजुद पनि व्यवस्थित ढंगले सन्चालन भइरहेको पाइएको कार्यदल संयोजक पुरीले बताए ।

..