विविध कार्यक्रम गर्दै मनाईयो ४१औं राष्ट्रिय मगर दिवस
Monday, February 27th, 2023, 8:56 pm
Kalpristha
गोपाल बुढाक्षेत्री
नेपालगन्ज, १५ फागुन
बाँकेका विभिन्न स्थानमा ४१औं राष्ट्रिय मगर एकता दिवसका अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ । सोमबार नेपालगन्ज न्युरोड स्थित बौद्ध गुम्बामा राष्ट्रिय मगर एकता दिवसको अवसर मनाईएको छ । नेपाल मगर संघ नेपालगन्ज उप–महानगर समितिको आयोजनामा भएको कार्यक्रममा धनुषवाण खेल, सटफुट खेलको आयोजना गरिएको छ ।
नेपाल मगर संघ नेपालगन्ज उप–महानगर समिति अध्यक्ष राजन राना मगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिका मेयर प्रशान्त विष्ट, निर्वतमान उप–मेयर उमा थापामगर, बाँके जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डिएसी राम प्रसाद घर्तीमगर, नेपालगन्ज उद्योग वाणिज्य संघ सदस्य एवम समाजसेवी विन्दु चर्तीमगर, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश शुक्रऋषि चौलागाई, थारु कल्याणकारी सभाका बिनोद थारु लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको अवसरमा विभिन्न प्रतिस्पर्धामा विजेता भएका विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको थियो । नेपालगन्ज उद्योग वाणिज्य संघ सदस्य बिन्दु चर्तिमगरले कार्यक्रममा उपस्थितीहरुलाई स्वागत तथा कार्यक्रमको संचालन मान बहादुर थापा मगरले गरेका थिए ।
यसैगरी खजुरा गाउँपालिका वडा नम्बर १ मा मगर दिवसको अवसरमा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । नेपाल मगर संघ खजुरा गाउँपालिका–१ राधापुर कार्यसमितिको आयोजनामा मैटहवा मावि सैनिकको खेल मैदानमा जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । कार्यक्रममा ८९ वर्षका कबिराम सारु मगर, ८७ वर्षका गगन पुलामी मगर, ८८ वर्षका सन्त बहादुर राना मगरलाई सम्मान गरिएको जय किसान स्पोर्टस् क्लबका महासचिव दिपक रानाले बताए ।

…………..

………..

…………