स्ववियु निर्वाचनमा जुट्दै विद्यार्थी संगठन
Monday, February 27th, 2023, 9:24 pm
Kalpristha
तेज बहादुर खड्का
नेपालगन्ज, १५ फागुन
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मिति नजिकिँदै गर्दा महेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीहरु चुनाव मैदानमा होमिएका छन् । निर्वाचनको लागि उम्मेदवार चयनसँगैं विद्यार्थीहरुले प्रचार–प्रसारलाई पनि तिब्र पारेका छन् । आ–आफनो प्यानलको झण्डा, व्यानरसहित विद्यार्थीहरु भोट माग्ने कार्य सुरु गरेका छन् ।
२०६५ साल देखि नियमित हुन नसकेको महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन यसपटक निर्धारित मिति आगामी चैत ५ गते हुँदैंछ । स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको लागि महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका केहि विद्यार्थी संगठनहरुले उम्मेदवार छनोट गरिसकेका छन भने केहि संगठन उम्मेदवार छनोट गर्ने प्रक्रियामा छन् ।
महेन्द्र बहुमुखी क्याम्पसमा नेवि संघबाट जीवनराज सुवेदी सभापतिको लागि चुनावी मैदानमा उत्रिने भएका छन् । अमरशाही क्याम्पस राजापुरका पुर्व स्ववियु सचिवको रुपमा नेतृत्व गरिसकेका सुवेदी शैक्षिक क्षेत्र सगसंगै सामाजिक क्षेत्रमा पनि सक्रिय छन् । सुवेदी महेन्द्र बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहमा अध्ययनरत छन् ।
स्वतन्त्र विद्यार्थी युनियन बौद्विक वर्गको नेतृत्व गर्ने संगठन भएकाले आफुहरुले पनि सवल र सक्षम नेतृत्वको रुपमा निःशुल्क शिक्षा अभियानको अभियन्ता समेत रहेका सुवेदीलाई सभापतिको रुपमा अघि सारेको नेवि संघका नेता चन्द्र प्रसाद देवकोटा बताउँछन् ।
यसैगरी अनेरास्ववियुको तर्फबाट स्ववियु सभापति पदमा अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष माधव खत्री उम्मेदवार बनेका छन् । महेन्द्र बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत खत्री लामो समयदेखि विद्यार्थी संगठनमा रहेर काम गर्दै आईरहेका छन् ।
यसैगरी नेकपा ‘एस’ निकट अनेरास्ववियूका तर्फबाट महेन्द्र बहुमुखी क्याम्पस कमिटी सचिब केशरजंग शाहले उम्मेदवार बन्ने संकेत दिएका छन् । यता माओवादी निकट विद्यार्थी संगठन अखिल क्रन्तीकारीले भने आफ्नो उम्मेदवारको टुङ्गो लगाएको छैन ।
फागुन २० गते सम्म आफ्नो संगठनबाट स्ववियु सभापतिको उम्मेदवारको टुंगो लगाईसक्ने अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य तथा बाँके ईन्चार्ज सुरेन्द्र जंग शाहले जानकारी दिए । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले पनि आफनो नेतृत्वको बारेमा टुङ्गो लगाईसकेको छैन् ।
संसदीय र स्थानीय कुनैपनि चुनावमा भाग नलिएको नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले समेत स्ववियुको निर्वाचनमा भाग लिने भएको छ । कालपृष्ठसँग कुरा गर्दै अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य तथा कर्णाली प्रदेश ईन्चार्ज डिबि शाहीले संसदीय व्यवस्थाका विरुद्व बोल्न सकिने माध्यमका रुपमा स्ववियुलाई लिएको बताउँदै यो निर्वाचनमा आफ्नो सँगठनको समेत उम्मेदवारी रहेको बताए । अनेरास्ववियू(क्रान्तिकारी)बाट महेन्द्र बहुमुखी क्याम्पसका संयोजक राजकुमार विकले स्ववियुको सभापतिको लागि उम्मेदवारी दिएका छन् ।
२०७३ सालमा देश भरिनै स्ववियु निर्वाचन सम्पन्न भएपनि महेन्द्र बहुमुखी क्याम्पसमा भने विभिन्न कारणबस स्ववियु निर्वाचन हुन सकेको थिएन । यसकारण पनि यस पटक हुने क्याम्पसको स्ववियु निर्वाचनलाई महत्वपुर्ण मानिएको छ ।