नेपालको अपराजित यात्रा कायमै
Tuesday, February 28th, 2023, 5:35 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १६ फागुन
यूएईएमा जारी रहेको आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता अन्तर्गतको प्रतियोगितामा नेपालले लगातार चौथो खेलमा जित हात पारेको छ । चौथो जित हात पार्ने क्रममा नेपालले यूएईस्थित मलेका क्रिकेट मैदानमा मंगलबार भएको खेलमा मलेसियालाई पराजित गरेको हो ।
नेपालले मलेसियालाई १० विकेटले पराजित गरेको हो । मलेसियाले दिएको ७३ रनको लक्ष्य नेपालले आठौं ओभरको अन्तिम बलमा कुनै विकेट नगुमाई पूरा गर्यो ।
नेपालका लागि दुवै ओपनर अविजित रहे । ओपनर दिपक बोहोरा ३८ रनमा अविजित रहँदा अर्का ओपनर अर्जुन कुमाल २१ रनमा अविजित रहे । त्यसअघि पहिला ब्याटिङ गरेको मलेसियाले ३५ दशमलब ३ ओभरमा अलआउट हुँदै ७२ रन मात्र बनायो ।
मलेसियाका लागि मुहम्मद अक्रम मालेकले सर्वाधिक २६ रन बनाउँदा मुहम्मद सायाहिरले १२ रन बनाए । मूहम्मद हरिसानले १२ रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि दीपेश कंडेलले १० ओभरमा ११ रन खर्चिएर ४ विकेट लिए । दीपेशले ६० बल बलिङ गरेकोमा ५३ बल डट राखेका थिए । आकाश चन्दले ४ दशमलब ३ ओभरमा ९ रन खर्चिएर ३ विकेट लिएका थिए । आकाशले २७ बल बलिङ गरेकोमा २० बल डट राखेका थिए ।
मिलन बोहोराले ९ ओभरमा ८ रन खर्चिएर २ विकेट लिए । उनले ५४ बल बलिङ गरेकोमा ४८ बल डट राखेका थिए । सुवास भण्डारीले ९ ओभरमा ३२ रन खर्चिएर १ विकेट लिए । उनले ५४ बल बलिङ गरेकोमा ४० बल डट राखेका थिए ।
२०१६ पछि पहिलो पटक विश्वकपमा छनोट हुने लक्ष्यका साथ यूएई पुगेको नेपाली टोली जितलाई निरन्तरता दिएको हो । प्रतियोगितामा नेपालसहित सिंगापुर, कुबेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ ।
अन्तिम खेलमा तथा निणर्ायक खेलमा नेपालले २ मार्च बुधबार घरेलु टोलीससँग खेल्नेछ । यस खेलमा जित हात पारे नेपाल २०१६ पछि पहिलो पटक विश्वकपमा पुग्नेछ ।
राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपका लागि छनोट हुनेछ ।