फेरि बने एलन मस्क विश्वकै धनी व्यक्ति
Tuesday, February 28th, 2023, 5:39 pm
Kalpristha
एजेन्सी, १६ फागुन
एलन मस्क फेरि विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् । ब्लूमबर्गको तथ्याङ्क अनुसार दोस्रो नम्बरमा झरेका मस्क पुनः शीर्ष स्थानमा उक्लिएका हुन् । सिएनएनका अनुसार गत वर्षको डिसेम्बरमा फ्रान्सेली लक्जरी ब्रान्ड लुइ भुटनका सीईओ बर्नार्ड अर्नाल्टले टेस्लाका सीईओ मस्कलाई शीर्ष स्थानबाट हटाएर दुई महिनाभन्दा बढी समयदेखि सूचीमा पहिलो नम्बरमा रहदै आएका थिए ।
सोमबार टेस्ला स्टकमा बढोत्तरी भएसँगै मस्कलाई विश्वका धनी व्यक्तिको सूचीमा शीर्षमा फर्काएको हो । मस्कको कुल सम्पत्ति सोमबार लगभग १८७.१ बिलियन पुगेको छ । जब अर्नाल्टको सम्पत्ति १८५.३ बिलियन रहेको छ ।
मस्कले ट्विटर किनेपछि प्रविधिमा फराकिलो बजार मन्दीको बीचमा गत वर्ष टेस्लाको स्टकमा तीव्र रूपमा गिरावट आएको थियो । इलेक्ट्रिक वाहन निर्माता टेस्लाको शेयर २०२३ सुरु भएदेखि भने बढेको छ ।
मस्कले हाल विश्वको सबैभन्दा धनी व्यक्तिको उपाधि मात्र होइन उनले इतिहासमा धेरै घाटा खाने व्यक्तिको रेकर्ड पनि राखेका छन् । गत वर्षको अन्त्यमा मस्क २०० बिलियन डलरको सम्पत्ति गुमाउने पहिलो व्यक्ति बनेका थिए । उनको कुल सम्पत्ति नोभेम्बर २०२१ मा करिब ३४० बिलियन डलरबाट डिसेम्बर २०२२ मा १३७ बिलियनमा झरेको थियो ।