नेपालगन्ज भ्रमण गरेर फर्कियो चिनिया टोली
Tuesday, February 28th, 2023, 7:08 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगञ्ज, १५ फागुन
चीनका प्रसिद्ध वुद्धिष्ट लामा (गुरु) मास्टर मिचु छेइङयुको टोलीले नेपालगञ्जका वरिष्ठ कलाकार श्यामानन्द सिंहको कला संग्राहालयको अवलोकन गरेको छ । सो टोली नेपाल चीन पारस्परिक सहयोग समाजको निम्तोमा शनिबार नेपालगञ्ज आएको हो । टोली सोमबार काठमाडौं फर्किएको छ । बुद्ध धर्मलाई कलाको माध्यमबाट प्रस्तुत गर्दै आउनु भएका छेइङयुसँगै अनुयायी मिस वाङ्ग तथा मि हाईहुङ्ग समेतले सिंह निवासमा अवस्थित संग्राहालयको अवलोकन गरेको हो ।
अमेरिका, युरोप, भारत लगायतका देशहरुमा बुद्ध धर्मको बारेमा प्रवचन दिइसक्नु भएका छेइङयूसहितको टोलीलाई कलाकार सिंहले माला र खादाले स्वागत गरेका थिए । टोलीले कलाकार सिंहद्धारा सिर्जित हस्तकला, चित्रकला, मुर्तीकलाका विभिन्न सृर्जनाहरुको रुचीपुर्वक अवलोकन गर्नुका साथै उच्च प्रशंसा गरेको थियो ।
यस अघि सो टोलीले बागेश्वरी मन्दिर स्थित हर्ष कृति महाविहार, न्यूरोडस्थित बौद्ध गुम्वा, कोहलपुर पिपरीको शान्ति तपोभूमी बौद्ध विहार लगायतको अवलोकन गरेको थियो । टोलीमा नेपाल–चीन पारस्परिक सहयोग समाजका कोषाध्यक्ष टोप बहादुर थापा, सदस्य एवम् कलाकार सुन्दर गुरुङ, ईश्वर श्रेष्ठ, रामचन्द्र तिवारी, तामाङ धेदुङ बाँके अध्यक्ष सरोज तामाङ, पुर्व अध्यक्ष माइली लामा रहेका थिए ।

………..