संकटमा शिवशिखर बहुद्देश्यीय सहकारी
Wednesday, March 1st, 2023, 6:05 pm
Kalpristha
शिव शिखर सहकारी संस्थाको केन्द्रीय कार्यालय भक्तपुरमा छ । यो सहकारीले २०६९ असोज २८ गते सहकारी विभागबाट दर्ता प्रमाणपत्र पाएको थियो । भक्तपुरको कौशलटार मुख्य कार्यालय रहेको यो सहकारीका देशभर ३३ भन्दाबढी शाखा छन् ।
सौरभ राना
नेपालगन्ज, १६ फागुन
सहकारी संस्थामा जम्मा गरेको रकम फिर्ता नगर्दा शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताले विरोध जनाएका छन् । आफुहरुले खाईनखाई गरि कमाएर जम्मा गरेको पैसा सहकारीले फिर्ता नगर्दा बचतकर्ता विरोधमा उत्रिएका छन् । नेपालगन्ज न्युरोड स्थित शिवशिखर बहुउद्देश्यीय सहकारीले संचालन गरेको मार्ट र कार्यालय अहिले बन्द अवस्थामा छ । रकम फिर्ता माग्दा विभिन्न बहानामा आफुहरुलाई पैसा फिर्ता नगरेको भन्दै बचतकर्ताहरुले शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाको कार्यलयमै गएर रकम फिर्ता माग्दैं बिरोध गरेका थिए । त्यस क्रममा सहकारीका कर्मचारिले प्रहरी परिचालन गरि आफुहरुलाई दवाव दिन खोजेको उनीहरु बताउँछन् ।
परेको बेला काम लाग्ला भनेर जम्मा गरेको आफ्नै पैसा फिर्ता माग्दा उल्टै आफुहरु माथि नै सहकारीले प्रहरी बोलाएर दवाव दिएको पिडितको गुनासो छ । परसपुरका निरज रस्तोगीले पनि आफुले पाउनुपर्ने पैसा नपाएको गुनासो गरेका छन् । ‘मैले खाई नखाई जम्मा गरेको आठ हजार रुपैँया लिन जाँदा दिएनन् । तपाईको पालो नै आएको छैन भन्छन् । उनीहरुलाई त्यो रकम सामान्य लागेपनि मेरा लागि त्यो ठुलो रकम हो । त्यसैबाट मेरो खर्च चल्छ ।’
भृकुटी नगरकी राधा रानाले पनि आफुले पाउनुपर्ने रकम नपाएको गुनासो गरिन् । ‘दिम्ला दिम्ला भन्छन् । तर, दिन्नन् । अचेल त अफिस पनि बन्द भैसक्यो । अब हामी हाम्रो पैसा लिन कहाँ जाने ?’–राधाले भनिन् ।
सहकारीले अहिले पैसा छैन भन्दै बचतकर्तालाई पन्छाइरहेको छ । यतिमात्रै होईन । सो सहकारीले आफ्ना बचतकर्तालाई आफ्नो ‘गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर्स’ बाट पैसा बराबरको सामान लैजान समेत दवाव दिईरहेको छ ।
सहकारीका कर्मचारीले भोली–भोली भन्दै आफुहरुलाई धेरैदिन झुक्याएको उनीहरुको गुनासो छ ।
शिव शिखर सहकारी संस्थाको केन्द्रीय कार्यालय भक्तपुरमा छ । यो सहकारीले २०६९ असोज २८ गते सहकारी विभागबाट दर्ता प्रमाणपत्र पाएको थियो । भक्तपुरको कौशलटार मुख्य कार्यालय रहेको यो सहकारीका देशभर ३३ भन्दाबढी शाखा छन् ।उक्त सहकारी संस्थाले देशका विभिन्न स्थानमा ‘गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर्स’ चलाएको छ ।
बचतकर्ताहरूको गुनसोबारे प्रतिक्रिया लिन खोज्दा नेपालगन्ज स्थित शिव शिखरकी शाखा व्यवस्थापक सन्ध्या गुरुङले सम्पर्कमा आउन चाहिनन् । उनलाई घटनाको बारेमा बुझने प्रयास गर्ने क्रममा सम्पर्क गर्दा फोन उठन सकेन् ।
शिव शिखर सहकारीमा सामान्य आम्दानी भएका, साना व्यवसायी, अटो रिक्सा चालक लगायत मध्यम स्तरका व्यवसायीले बचत गर्दै आएका छन् । यस सन्दर्भमा जिल्ला सहकारी संघका प्रबन्धक नवराज सुवेदीसँग कुरा गर्दा शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था राष्ट्रिय स्तरको सहकारी भएकाले सोको अनुगमनको काम आफ्नो कार्यक्षेत्रमा नपर्ने बताए ।
सहकारी ऐन– २०७४को परिच्छेद –९ अन्र्तरगत आर्थिक स्रोत परिचालनमा बचत कर्ताको रकम फिर्ता तथा खाता सञ्चालन सम्बन्धी व्यवस्था गरिएको छ । जसमा ‘कुनै सदस्यले सहकारी संस्थाको सदस्यता त्यागी रकम फिर्ता लिन चाहेमा निजको कुनै दायित्व भए त्यस्तो दायित्व भुक्तान गरेको मितिले तीन महिनाभित्र निजको बाँकी रकम तोकिए बमोजिम निजलाई फिर्ता गर्नु पर्नेछ । कुनै सदस्यले सहकारी संस्थामा जम्मा गरेको बचत फिर्ता माग गरेमा निजको कुनै दायित्व भए त्यस्तो दायित्व कट्टा गरी बाँकी रकम तोकिए बमोजिम निजलाई फिर्ता गर्नु पर्नेछ ।’– भनिएको छ । अनियन्त्रित रुपमा बजारमा लगानी गरेका कारण सहकारीले आर्थिक संकटको सामना गर्नु परिरहेको छ ।