भिन्सेन्जो नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक
Wednesday, March 1st, 2023, 6:07 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, १७ फागुन
अखिल नेपाल फुटबल संघ (एन्फा) ले इटालियन नागरिक भिन्सेन्जो अल्बर्टो एनीसलाई राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको छ । विवादका बीच बुधबार बसेको एन्फाको केन्द्रीय समितिको बैठकले भिन्सेन्जो प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको हो । साथै एन्फाले चैत ६ देखि १७ सम्म दशरथ रंगशालामा प्रधानमन्त्री थ्रीनेसन कप अन्तर्राष्ट्रय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगितामा नेपाल, भुटान र लाओसबीच प्रतिस्पर्धा हुनेछ ।
यो प्रतियोगिता अघि भिन्सेन्जो प्रशिक्षक नियुक्त गरिएको हो । यसअघि कुवेतका अल्दुल्लाह अलमुताइरीपछि एन्फाले प्रदीप हुमागाइँ र प्रवेश कटुवाललाई राष्ट्रिय टिमको प्रशिक्षकको जिम्मेवारी दिएको थियो । भिन्सेन्जो इटालियन व्यवसायिक फुटबल प्रशिक्षक र पूर्व खेलाडी हुन् । उनी हाल इन्डियन सुपर लिग क्लब नर्थइस्ट युनाइटेडका मुख्य प्रशिक्षक हुन् । आफ्नो कोचिङ करियर इटालीमा सुरु गरेका उनी लाटभिया, घाना, प्लेस्टाइन, इन्डोनेसिया, बेलीज, कोसोभो र भारतका टिमको प्रशिक्षक भएर काम गरेको अनुभव छ । उनले भारतको गोकुलम केरलाको प्रशिक्षक हुँदा लगातार दुई सिजन आइलिग उपाधि जितेका थिए ।
सन् २०१० मा आफ्नो व्यवसायिक कोचिङ करिअर सुरु गरेका उनी सन् २०१७ मा घानाको प्रिमियर लिग क्लब बेचेम युनाइटेडमा नियुक्त भए । क्लब २०१८ घाना सुपर कप उपविजेता भयो । २०१८ मा उनी इन्डोनेसियाको लिग वान क्लब पिएसआइएस सेमाराङको प्रशिक्षक नियुक्त भएका थिए। उनले २०१९ मुख्य प्रशिक्षकको रूपमा सेन्ट्रल अमेरिकी देश बेलीज राष्ट्रिय फुटबल टोलीसँग एक वर्षको सम्झौता गरेका थिए ।
सन् २०२० मा उनी भारतको आइलिग क्लब गोकुलम केरलाको प्रशिक्षक भए । उनको नेतृत्वमा क्लबले २०२०–२१ सिजनमा आइ लिग जित्यो । उनको प्रशिक्षणमा केरलाले २१ खेलसम्म अपराजित रहदै इतिहास रच्यो। उनको नेतृत्वमा केरलाले २०२१–२२ पनि उपाधि जित्यो । २०२२ एएफसी कप समूह चरणको उद्घाटन खेलमा केरलाले इन्डियन सुपर लिग क्लब एटीके मोहन बागान विरुद्ध ४–२ को ऐतिहासिक जित हासिल गरेको थियो । गत वर्ष उनले क्लब छाडेका थिए ।