किशोरीहरुलाई आत्म सुरक्षा सम्बन्धी तालिम खजुरामा सुरु
Wednesday, March 1st, 2023, 6:35 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, १७ फागुन
किशोरी संग उपाध्यक्ष कार्यक्रम अर्नतरगत किशोरीहरुलाई आत्म सुरक्षा सम्बन्धी तालिम बुधबारदेखि खजुरा गाउँपालिकाको मिनिपार्कमा सुरु भएको छ । किशोरीहरुलाई परिआउदा प्रतिकार र आत्मरक्षा गर्न सक्ने तथा हिंसाबारे चेतना जगाउने उद्देश्यका साथ आयोजना गरिएको तालिममा संवेदनशिल अंगमा प्रहार गर्दा आफू कसरी बच्न सकिन्छ, आफ्नो क्षमता आफूले कसरी पहिचान गर्ने हिंसाका किसिमहरु के के हुन र आत्म अनुशासनमा कसरी बस्ने र परिस्थितिजन्य अवस्थामा आफ्नो बचाउ कसरी गर्न सकिन्छ भन्ने लगाएतका विषयमा प्रशिक्षण दिईनेछ ।
खजुरा गाउँपालिकाको ८ वटै वडाबाट ५१ जना किशोरीहरुको सहभागिता रहेको छ । खजुरा गाउँपालिका महिला तथा बालबालिका शाखाले कार्यक्रम संचालन गरेको थियो । खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लको अध्यक्षता तथा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकको प्रमुख आतिथ्यतामा भएको थियो ।
तालिम उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी विकले आत्मरक्षा कला महिला तथा किशोरीका लागि मात्र नभएर आम नागरिकको रक्षामा महत्वपूर्ण भएको बताए । आफूसंग भएको सिप र स्रोत साधनको प्रयोगमा आफ्नो सुरक्षा आफै गर्न सक्ने कला आत्मरक्षा कला भएकाले यसको महत्वलाई सबैले बुझ्नु पर्ने उनको भनाइ छ ।
सो अवसरमा खजुरा गाउँपालिका प्रमुख प्रशासकीय नृपाराज उपाध्याय , खजुरा गाउँपालिका समाजिक बिकास समिति संयोजक कृष्ण कुमारी पोख्रेल महिला तथा बालबालिका शाखा प्रमुख शुसिला न्यौपाने लगाएतको उपस्थिति रहेको थियोे । किशोरीहरुलाई आत्म सुरक्षा सम्बन्धी तालिम ६ दिन सम्म संचालन हुने भएको छ ।