नीलसागरमा गएर सहयोग गरे युरो बेबी जोनका विद्यार्थीले
Friday, March 3rd, 2023, 4:16 pm Kalpristha
कालपृष्ठ समाचारदाता नेपालगन्ज, १९ फागुन
युरो बेबी जोन स्कुलका विद्यार्थीले नील सागर सेवाश्रमको नेपालगन्ज स्थित केन्द्रिय कार्यालयको अवलोकन गरेका छन् । फिल्ड ट्रिप अन्तर्गत शुक्रबार युरो बेबी जोन स्कुलका विद्यार्थीहरुले नील सागरमा गएर सहयोग समेत गरेका छन् ।
आश्रममा रहेका बृद्ध, बृद्धा र बालबालिकाहरुलाई युरो बेबी जोनका विद्यार्थीहरुले खाद्यन्न लगायतका सामाग्री सहयोग गरेका थिए ।
युरो बेबी जोन स्कुल बाँकेमा उत्कृष्ट मन्टेश्वरी स्कुलमा पर्छ । जसले उत्कृष्ट व्यवस्थापन र उच्च गुणस्तरीय जनशंक्तिको माध्यमबाट पढनपाठन गराउने गरेको छ । शुक्रबार युरोबेबी जोन स्कुलका संस्थापक निर्देशक कमल पछाई, प्रिन्सिपल निर्जला महर्जन, शिक्षिका र बालबालिका सहितको टोलीले नीलसागर आश्रमको अवलोकन गरेको थियो ।
नीलसागर सेवाश्रमको संस्थापक अध्यक्ष सरिता खनालले बालबालिकालाई आश्रममा भ्रमण गर्ने अवसर जुटाईदिएकोमा विद्यालय परिवारलाई धन्यवाद दिईन् । सो अवसरमा संस्थापक अध्यक्ष खनालले युरो बेबी जोन स्कुलका संस्थापक निर्देशक पछाई र पिन्सिपल महर्जनलाई सम्मान–पत्र प्रदान गरेकी थिईन् ।
नीलसागर बेसाहरा बृद्धबृद्धा र बालबालिकाहरुको सेवामा सक्रिय भएर काम गरिरहेको संस्था हो । नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर–९ शान्तिनगरमा संस्थाको केन्द्रिय कार्यालय रहेको छ । जहाँ अहिले १ सय १५ जना बृद्धबृद्धा र ५५ जना बालबालिकाहरुले रहेका छन् ।
विद्यार्थीहरुलाई मानवता र सेवाभावको विकास गराउने उद्देश्यले नीलसागरमा गएर थोरै भएपनि सहयोग गरेको युरोबेबी जोन स्कुलका संस्थापक निर्देशक कमल पछाईले बताए । उनले भने,‘विद्यार्थीलाई हामी विभिन्न ठाउँमा गएर त्यहाँ वस्तुस्थितका बारेमा बुझनको लागि भ्रमण गराउने गछौं । आज हामीले त्यही योजना अनुसार नीलसागरमा आएर मानव सेवाको बारेमा बालबालिकालाई बुझाउने प्रयास गरेका छौं ।’
………
नीलसागर भ्रमणको क्रममा बालबालिकाहरुका अभिभावकहरुले उपलब्ध गराएको सहयोग नीलसागरलाई प्रदान गर्न युरोबेबी जोन स्कुलले समन्वय गरेको थियो । नीलसागर सेवाश्रमको संस्थापक अध्यक्ष खनालले आश्रम संचालनमा समस्याहरुको सामना गरिरहेको भएपनि थुप्रै मनकारी सहयोगी दाताहरुले आश्रम संचालन भैरहेको बताईन् । बालबालिकालाई आफना अभिभावक, हजुरबुबा हजुर आमाहरुलाई माया र सम्मान गर्नका लागि नीलसागरको भ्रमणले निकै सहयोग गर्ने प्रिन्सिपल श्रेष्ठले बताईन् ।