प्रहरी तालिम केन्द्रमा निःशुल्क आयुर्वेद स्वास्थ्य परिक्षण
Friday, March 3rd, 2023, 7:42 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, १९ फागुन
नेपालगन्ज आयुर्वेद जनरल हस्पिटल टिमले कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतमा (हाल नेपालगन्ज) कार्यरत प्रहरीको निःशुल्क स्वास्थ्य परिक्षण गरेको छ । आयुर्वेद स्वास्थ्य सेवा र यसको महत्व बारेमा जनचेतना जगाउने उद्देश्य सहित गरिएको स्वास्थ्य परिक्षणमा २ सय भन्दा बढी प्रहरीको स्वास्थ्य परिक्षण गरिएको थियो । नेपालगन्ज कारकाँदो स्थित तालिम केन्द्रमा प्रशिक्षण गरिरहेका प्रहरी जवान र तालिम केन्द्रमा कार्यरत अन्य कर्मचारीहरुको स्वास्थ्य परिक्षण गरेर निःशुल्क औषधी समेत वितरण गरिएको नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलका प्रमुख प्रशासकिय अधिकृत प्रभाकर मिश्रले बताए ।
नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलका निर्देशक डा. शिवराज सुवेदी, डा. मनोज कुमार यादव, एचए आयुर्वेद सन्दिप कुमार थारु, ल्याब टेक्निसियन बसन्ती कार्की, लेखा तथा व्यवस्थापन शाखा प्रमुख प्रिन्सी मिश्र र पदमा थापा सहितको टिमले बिरामीहरुको स्वास्थ्य परिक्षण गरेको थियो ।
स्वास्थ्य परिक्षण अघि नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलका अध्यक्ष एवम् संविधान सभा सदस्य नेपाली कांग्रेसका केन्द्रिय सदस्य मैकुलाल वाल्मिकी, कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक सुशील सिंह राठौंर, प्रहरी निरिक्षक हस्त बहादुर सुनार, याम बहादुर मल्ल र ईश्वर देव गिरी लगायतको उपस्थिती रहेको थियो । स्वास्थ्य परिक्षण कार्यक्रम अघि भएको औपचारिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दैं नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलका अध्यक्ष वाल्मिकीले आयुर्वेदको महत्वको बारेमा बताएका थिए । नेपाल जडीबुटीमा धनी देश भएर पनि आयुर्वेदका क्षेत्रमा आत्मनिर्भर हुन नसकेको उनले बताए ।

………..
नागरिकको स्वास्थ्यलाई सुधार गर्नको लागि आयुर्वेद औषधी निकै लाभदायिक भएको बताउँदैं नेपाली जनतामा आयुर्वेद प्रति सकारात्मक भावनाको विकास हुँदैं गएको वाल्मिकीले बताए । कार्यक्रममा अध्यक्षताको आसन ग्रहण गरेका कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख राठौंरले आयुर्वेद मानव सभ्यतासँग जोडिएकोले आयुर्वेद उपचार पद्धती आधुनिक युगमा थप महत्वपुर्ण बन्दै गएको धारणा राखेका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले आयुर्वेद उपचार पद्धतिले मानव जीवनमा पार्ने सकारात्मक प्रभावहरुको बारेमा चर्चा गरेका थिए ।
नेपालगन्ज आयुर्वेद जनरल हस्पिटल नेपालमै निजी क्षेत्रबाट १५ शैयामा सुविधा सहित खुलेको पहिलो अस्पताल हो । जसले यस वर्ष देखि आयुर्वेद एचएको अध्यापन गराउने तयारी गरेको नेपालगन्ज हेल्थ क्याम्पसका प्रिन्सिपल प्रभाकर मिश्रले बताए ।

………….