ट्राफिक कार्यालय डोल्पाद्धारा सवारी चेकजाँचमा कडाई
Saturday, March 4th, 2023, 6:43 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा , २० फागुन
हिमाली जिल्ला डोल्पामा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक कार्यालयले सवारी चेकजाँचमा कडाई गरेको छ । जिल्ला ट्राफिक कार्यालयका इन्चार्ज प्रहरी हवलदार विनोद थापाका अनुसार आर्थिक वर्ष ०७९ ।०८० को साउन यता देखि माघ मसान्त सम्म ७ महिनामा सवारी कारवाहिबाट मात्र ६ लाख ३२ हजार रुपियाँ राजस्व उठेको छ । आर्थिक वर्ष ०७९।०८० को साउन देखि माघ मसान्त सम्म ट्रक ४६ जीप ३ सय २३ ट्रयाक्टर १ हजार ९५१ र मोटर साइकल १ सय ७६ गरेर २ हजार ४९६ सवारी साधनलाई चेकजाँचको क्रममा कारवाही गरिएको जिल्ला ट्राफिक कार्यालयका इन्चार्ज प्रहरी हवलदार विनोद थापाले जानकारी दिए ।
डोल्पा जाजरकोट सडक खण्डमा संचालन हुदै आएका विभिन्न सावरी साधनहरुको अवस्था पहिचानका लागि यान्त्रिक परीक्षण समेत गरेको छ । ट्राफिकले गाडी मर्मतमा सम्पुर्ण ज्ञान भएका मेकानिकल समेतको टोलि खटाएर डोल्पाको त्रिपुराकोट बजार कालागौडा र दुनै बजारमा पर्ने सडकमा गुडिरहेका सवारीको अवस्था परीक्षण गर्ने क्रममा २४ वटा सवारी साधनहरुको अवस्था नाजुक रहेको ब्रेक नभएको साइड ऐना नभएको पाइएको छ ।
लामो समय सम्म सर्भिसिङ गर्नु पर्ने अवस्था भएपनि नभएको थोत्रा र यात्रु चढ्नै डरलाग्दो अवस्थामा रहेको पाइएकाले मर्मत तथा रिकन्डिसन बनाउनको लागि दुई साताको समय दिइएको र पुन चेकजाँचको क्रममा मर्मत नगरिएको पाइएमा सावारी साधन जफत गरिनुका साथै चालकलाई समेत कारवाही गरिने जिल्ला ट्रफिक कार्यालयले जनाएको छ ।
त्यस्तै गरी ट्राफिक कार्यालय स्थापना भएदेखि हाल सम्म जिल्लामा ११ ओटा सवारी दुर्घटना भएका छन । विभिन्न समयमा भएका दुर्घटनामा परेर ६ पुरुष १ महिला र १ वालक गरेर ८ जनाको मृत्यु भएको छ । नेपाली सेनाले ०७५ मंसिर ४ मा जाजरकोट डोल्पा सडकलाई निर्माण कार्य सम्पन्न गरेर ०७६ मा सडक विभागलाई हस्तान्तरण गरेको थियो । डोल्पा र रुकुम जिल्लाको सिमा क्षेत्र साङ्ले देखि सदरमुकाम दुनै सम्मको आन्तरिक सडक खण्ड मध्ये भेत्तीमा पर्ने बतासे डाँडा, जुफाल डाँगीवाडाको घुम्ती, साङ्लेभीर र सिउडेनी घुम्तीमा बढी दुर्घटना हुने गरेको छ ।
उच्च दुर्घटना स्थल भएपनि सडक विभागले जोखिम सडक खण्ड पहिचान नगरेर सडक जोखिम सुचना टाँस समेत नगरेकाले पनि सवारी चालकहरुलाई समस्या भएको ट्राफिक कार्यालयको भनाई छ । त्रिपुराकोट दुनै जुफाल र खदाङमा गरी ४ ओटा स्थानमा ट्राफिक संकेत चिन्ह तथा सुचना पार्टी राखिएको समेत कार्यालयले जनाएको छ । सडक सवारी दुर्घटना न्यूनीकरणको लागि जनचेतनामुलक कार्यक्रम स्कुल कार्यक्रम चालक सहचालक र पैदलयात्रीहरुलाई समेत ट्राफिक नियम सम्बन्धि प्रशिक्षण लगायतका विविध जनचेतनामुलक कार्यक्रम संचालन समेत गरिएको टा«फिकले जनाएको छ ।
सवारी चेकजाँचलाई कडाई गरेपछि मदिरासेवन गरेर सवारी चलाउनेको संख्या घट्दै गएको सवारी साधनको आवश्यक कागजात समेत बोकेर सवारी चलाउनु पर्छ नत्र ट्राफिक कारवाहीमा परिन्छ भन्ने चेतनाको विकास भएकोले सवारी दुर्घटना न्यूनीकरण सुधारउन्मुख रहेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । ट्राफिक स्थापना नहुँसम्म गाडीभाडामा यात्रु र सवारीचालक बीच किचलो हुने गरेकोमा टा«फिकले जीपभाडादर कायम गरेपछि भाडाकै लागि हुने गरेको झगडाको अन्त्य भएको छ । हिमाली जिल्ला डोल्पामा पछिल्लो समय सवारीको संख्या बढ्दै गएपनि रातदिनै ट्राफिक चेकजाँचलाई सक्रियताका साथ अगाडि बढाइएको पनि ट्राफिक ईन्चार्ज थापाको भनाई छ ।
रात्रीकालिन सवारी चेकजाँच गर्न सजिलो होस भनेर म्याजिक लाईट फ्लोरेन्स ज्याकेट समेतको ब्यवस्थाले जिल्ला ट्राफिक कार्यालय स्रोत साधनले सम्पन्न हुदै गएको छ ।