लुम्बिनी प्रादेशिक अस्पतालको निर्माण अलपत्र
Saturday, March 4th, 2023, 8:59 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २० फागुन
लुम्बिनी प्रदेश सरकारले निर्माण गरिरहेको लुम्बिनी प्रादेशिक अस्पतालको काम अलपत्र भएको छ । निर्माण कम्पनीसँग ठेक्का तोडेर प्रदेश सरकारले कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाएको छ ।
प्रदेश सरकारले शुक्रबार सूचना जारी गर्दै यस्तो जनाएको हो । ठेक्का सम्झौता तोडी कालोसूचीमा राख्न प्रक्रिया अगाडि बढेकाले काठमाडौंमा कार्यालय रहेको निर्माण कम्पनी भूमि दृष्टि बिल्डर्स एन्ड सप्लायर्सलाई १५ दिनभित्र स्पष्टीकरण पेस गर्न सूचनामा भनिएको छ ।
भूमि दृष्टि बिल्डर्सले पाएको ठेक्कामा प्रादेशिक अस्पतालको पावर स्टेसन सिभिल वर्क र डेलिभरी, इन्स्टलेसनको कामका लागि २०७८ फागुनसम्म मात्र म्याद थियो । तर, उक्त समयावधिमा निर्माण पुरा नभएपछी कम्पनीसँग ठेक्का तोडी कालोसूचीमा राख्न लागिएको प्रदेश सरकारले जनाएको छ ।
सम्झौताको अवधिमा पटक पटक पत्राचार गर्दा समेत निर्माण कार्य सन्तोषजनक रुपमा अगाडि नबढाएको सूचनामा उल्लेख छ । वैकिल्पक उपायबाट निर्माण कार्य सम्पन्न गराउन साथै उक्त बाँकी काम पुरा गर्न लाग्ने खर्च लगायतको रकम प्रचलित कानुन बमोजिम सरकारी बाँकी सरह असुल उपरको कार्वाही अघि बढाइने प्रदेश सरकारले जनाएको छ ।