८ इन्टरनेट सेवा प्रदायक कम्पनी कारबाहीमा
Sunday, March 5th, 2023, 7:02 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २१ फागुन
नेपाल दूरसञ्चार प्राधिकरणले ८ इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई कारबाही गरेको छ । स्वीकृतिबिना नै ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको भन्दै प्राधिकरणले यी कम्पनीहरूलाई कारबाही गरेको हो । कुनै पनि इन्टरनेट सेवा प्रदायकले प्राधिकरणबाट महशुलदर स्वीकृत नगराई सेवा दिन मिल्दैन। यो ऐन विपरित हुन्छ। यसै विषयलाई केन्द्रित गर्दै प्राधिकरणले पटक–पटक इन्टरनेट प्रदायकहरूका लागि पत्रचार गरेको थियो ।
सुबिसु केबलनेट लिमिटेड, भायानेट कम्युनिकेसन लिमिटेड, वेबसर्फर नेपाल कम्युनिकेसन सिस्टम प्रालि, डिसमिडिया नेटवर्क लिमिटेड, क्लासिक टेक प्रालि, वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड, सिजी कम्युनिकेसन लिमिटेड र वाईफाई नेपाल प्रालि गरी ८ इन्टरनेट सेवा प्रदायक कम्पनीहरू प्राधिकरणको कारबाहीमा परेका हुन् । उनीहरूलाई पटक–पटक विभिन्न माध्यमबाट अराजक कार्य नगर्न र ऐन विपरित कार्य नगर्न चेतावनी दिँदै आएको थियो । यस सम्बन्धमा स्पष्टीकरण समेत माग गरिएको थियो ।
यी ८ कम्पनीहरूलाई ३० दिन भित्र एक–एक लाख जरिवाना बुझाउन समय दिइएको छ । प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ को दफा ४७ (२) बमोजिम जरिवाना गरेको हो । १५ दिन भित्र ऐन विपरित गरिएका सम्पूर्ण सेवाबारे जानकारी गराउन निर्देशन दिइएको छ । साथै कानुन विपरितका सेवा बन्द गर्न पनि निर्देशन दिएको छ । प्राधिकरणको निर्देशन विपरित अटो रिन्यू हुने गरी भिएएस सेवा सञ्चालन गरेको पाइएकाले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडलाई समेत कारबाही गरिएको छ । कम्पनीलाई दूरसञ्चार ऐन, २०५३ को दफा ४७ (१) बमोजिम ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।