राज्यले झोलेछाप डाक्टरलाई नियन्त्रण गर्नु पर्छः वाल्मिकी
Sunday, March 5th, 2023, 8:18 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २१ फागुन
नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलका अध्यक्ष एवम् संविधान सभा सदस्य मैकुलाल वाल्मिकीले सीमाक्षेत्रमा सक्रिय भएर काम गरेका झोले छाप आयुर्वेद डाक्टरलाई राज्यले नियन्त्रण गर्नु पर्ने बताएका छन् । अनुमति बिना नेपाल र भारतीय सिमा क्षेत्रमा यस्ता डाक्टरहरुले उपचार गर्ने गरेका छन् । नेपालगन्ज लगायतका स्थानमा उनीहरुले बिना अप्रेसन पाईल्स, फिसर, हाइड्रोसल, पत्थरीको उपचार गर्ने भन्दैं प्रचार प्रसार गरिरहेको छन् ।
जसका कारण मानिसको जीवन नै धरापमा पर्ने गरेको नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका बाल्मिकीले बताए।

…………………
नेपालगन्ज स्थित सशस्त्र प्रहरी बल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेमा आयोजना गरिएको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा क्रममा संविधान सभा सदस्य वाल्मिकीले यस्तो कुरा बताएका हुन् । पछिल्लो समय नेपालगन्जमा ८ जना बिरामीको स्वास्थ्य झोले डाक्टरका कारण बिग्रिएको उनले बताए । गलत किसिमको उपचारका कारण स्वास्थ्यमा थप जटिल समस्या देखिएपछि उनीहरुको अहिले दाङ बिजौरी स्थित आयुर्वेद अस्पतालमा उपचार भैरहेको उनले बताए । नेपाल सरकार र नियमकारी संस्थाले यस्ता झोले डाक्टर र अनुमति बिना खुलेका क्लिनीकलाई नियन्त्रण नगरे त्यसले स्वास्थ्य क्षेत्रमा ठुलो समस्या उत्पन्न गर्दै लग्ने उनले बताए ।
आयुर्वेद चिकित्सा सेवा र उपचार पद्धतिको प्रचार प्रसार गर्ने उद्देश्यले नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलले पछिल्लो समय निःशुल्क स्वास्थ्य शिविर अभियाननै सुरु गरेको छ । जसमा विशेषज्ञ आयुर्वेद चिकित्सव टिमले बिरामीको चेकजाँच र निःशुल्क रुपमा औषधी वितरण गर्ने गरेको छ ।
आइतबार सशस्त्र प्रहरी बल नम्बर ३० गणमा पनि अभियान अन्तर्गत निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरको आयोजना गरिएको थियो । जहाँ १ सय भन्दा बढी सशस्त्र प्रहरीहरुको स्वास्थ्य परिक्षण र औषधी वितरण गरिएको नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलकी लेखा तथा प्रशासन प्रमुख प्रिन्सी मिश्रले बताईन् । नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलले सशस्त्र प्रहरीमा आएर निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर गरेमा सशस्त्र प्रहरी बल नम्बर ३० गण प्रमुख एसएसपी रमेश बिक्रम शाहीले धन्यवाद दिए ।
आइतबार भएको स्वास्थ्य शिविरमा नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलका प्रमुख कार्यकारी अधिकृत प्रभाकर मिश्र, निर्देशक एवम् आयुर्वेद चिकित्सक डा. शिवराज सुवेदी, डा. मनोज यादव, डा. प्रतिक्षा केसी गौतम, आयुर्वेद एचए सन्जिव कुमार थारु, प्रिन्सी मिश्र, पदमा थापा लगायतको टिमले काम गरेको थियो ।

…………