अञ्जन र अरुणा वर्षको उत्कृष्ट खेलाडी
Tuesday, March 7th, 2023, 6:27 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, २३ फागुन
फुटबल खेलाडी अञ्जन विष्ट र महिलामा भलिबल खेलाडी अरुणा शाही वर्षको उत्कृष्ट खेलाडी बनेका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले गत वर्ष गरेको प्रदर्शनका आधारमा अञ्जनलाई पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड प्रदान गरेको हो ।
यो विधामा फुटबलका विष्टसहित किरण चेम्जोङ, क्रिकेटका कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी तथा ब्याडमिन्टनका प्रिन्स दाहाल मनोनयनमा परेका थिए ।
उनीहरुलाई पछि पार्दै अवार्ड हात पारेका अञ्जनले विश्वकप छनोटमा चाइनिज ताइपेईविरुद्ध गोल गरेका थिए ।
यस्तै उनले १३ औं साफ च्याम्पियनसीपमा श्रीलंका र बंगलादेशविरुद्ध पनि गोल गरेका थिए । गत वर्ष नै भएको नेपाल सुपर लिग एनएसएलमा उनी सर्वश्रेष्ठ फरवार्ड चुनिएका थिए । उनले पल्सर मोटरसाइकल पुरस्कार पाएका छन् ।
यस्तै नेपाल खेलकुद पत्रकार मञ्चले गत वर्ष गरेको प्रदर्शनका आधारमा अरुणालाई पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत वर्षको उत्कृष्ट महिला खेलाडीको अवार्ड प्रदान गरेको हो ।
यो विधामा शाहीसँगै क्रिकेटका रुबिना क्षेत्री र सीता रानामगर, एथलेटिक्सकी पुष्पा भण्डारी र बक्सिङकी पुनम रावल मनोनयनमा परेका थिए ।
उनीहरुलाई पछि पार्दै अवार्ड जितेकी अरुणा बंगलादेशमा भएको एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसीपको उपाधि उचाल्ने कप्तान हुन् । उनकै कप्तानीमा नेपालले समूह चरणका ५ खेल र फाइनलमा उज्वेकिस्तानलाई हराएर अपराजित यात्रासहित उपाधि जितेको थियो । उनी यो प्रतियोगितामा बेस्ट सेटर बनेकी थिइन् ।
यस्तै घरेलु प्रतियोगिता छैटौं एनभीए कपमा पनि उनी बेस्ट सेटर बनेकी थिइन् । वर्षको उत्कृष्ट महिला खेलाडी बनेकी अरुणाले पल्सर मोटरसाइकल पुरस्कार पाएका छिन् ।