राष्ट्रपति निर्वाचनमा राप्रपाले भोट नहाल्ने
Wednesday, March 8th, 2023, 6:22 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २४ फागुन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनमा भोट नहाल्ने निर्णय गरेको छ । राष्ट्रपति चयनका लागि बिहीबार हुने निर्वाचनमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने राप्रपाले निर्णय गरेको हो । राप्रपाको बुधबार बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रपति चुनावमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने निर्णय गरेको प्रचार विभाग प्रमुखसमेत रहेका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
राप्रपा केन्द्रीय समितिमा राष्ट्रपति निर्वाचनमा भोट हाल्न नहुने मत बलियो भएपछि यो निर्णय आएको हो । राप्रपाले राजसंस्था पुनःस्थापनाको माग गर्दै आएको छ । राजसंस्था पुनःस्थापना मुख्य राजनीतिक ऐजेन्डा बनाउने दलले गणतन्त्रको प्रतीक मानिने राष्ट्रपतिमा मतदान गर्नु राजनीतिक कार्यदिशाभन्दा फरक हुने मत पार्टीभित्र प्रभावी भएपछि यो निर्णय आएको हो ।
यसअघि २०७४ सालमा भएको राष्ट्रपति निर्वाचनमा राप्रपाले एमाले उम्मेदवार विद्यादेवी भण्डारीलाई मत हालेको थियो । त्यसबेला संघीय संसद्मा राप्रपाका वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देन एक जनामात्रै सांसद थिए ।