राष्ट्रपति निर्वाचन आज
Thursday, March 9th, 2023, 6:00 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २४ फागुन
आज बिहिबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा राष्ट्रपति निर्वाचन निर्वाचन हुदैछ । आज बिहान १० बजेदेखि ३ बजेसम्म मतदान कार्यक्रम रहेको छ । संसद भवनको ल्होत्से हलमा २ वटा मतदान केन्द्रमध्ये एउटा मतदान केन्द्रमा संघका सांसदहरुले मतदान गर्नेछन् भने अर्को मतदान केन्द्रमा प्रदेश तर्फका सांसदले मतदान गर्नेछन् । राष्ट्रपतिको निर्वाचनमा संघीय र प्रदेश तर्फका ८ सय ४२ सांसदले मतदान गर्नेछन् ।
मतपत्रमा उम्मेदवारको नाम र फोटो हुने तर निर्वाचन चिन्ह नहुने पौडेलले बताए । मतदाताले मतपत्रमा स्वस्तिक छाप लगाएर मतदान गर्नुपर्नेछ । मतपत्रमा ठीक चिन्ह लगाएमा मतपत्र बदर हुने निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए ।
मतदान सम्पन्न भएपछि आज नै ४ बजेदेखि मतगणना सुरु गरेर साँझ ७ बजेसम्म परिणाम घोषणा गर्ने तयारी गरेको निर्वाचन अधिकृत पौडेलले जानकारी दिए । मतदानका बेला मतदाताका रुपमा रहेका संघीय र प्रदेश सांसदले मतदानस्थलमा मोबाइल फोन प्रयोग गर्न नपाउने उनले बताए । निर्वाचनमा एक मतदान केन्द्रमा ७ जना कर्मचारी खटिनेछन् भने पर्याप्त मात्रामा सुरक्षाकर्मी खटिने उनले बताए ।
राष्ट्रपतिको निर्वाचनका लागि सत्ता गठबन्धन ८ दलको समर्थन र सहयोगमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल उम्मेदवार रहेका छन् भने उनका प्रतिस्पर्धीका रुपमा एमालेको तर्फबाट पार्टीका उपाध्यक्ष समेत रहेका सुवास नेम्वाङ उम्मेदवार रहेका छन् । निर्वाचनमा आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा गरिसकेको र अब मतदानको समयको प्रतिक्षामा रहेको आयोगले बताएको छ ।