लुम्विनीमा २३ प्रतिशत सुत्केरी आमाहरुको रक्त अल्पताका कारण मृत्यु
Friday, March 10th, 2023, 6:53 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २६ फागुन
लुम्विनी प्रदेश स्वाथ्य मन्त्रालयका नर्सिङ अधिकृत सुनिता ज्ञवालीले लुम्विनी प्रदेशमा २३ प्रतिशत सुत्केरी आमाहरुको रक्त अल्पताका कारण मृत्यु हुने गरेको बताएकी छन् । । शुक्रबार नेपालगन्जमा आयोजित महिला जनप्रतिनीधि, अधिकारकर्मी तथा सञ्चारकर्मीहरुलाई प्रजनन् स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।
प्रजनन् स्वाथ्यको अवस्था बारे जानकारी गराउँदै उनले नेपाल सरकारले गर्भवति महिलाका लागि निशुल्क उपलब्ध गराईरहने आईरन चक्की सेवन नगर्दा रक्त अल्पता हुने बताईन् । ‘लुम्विीनी प्रदेशमा ७३ प्रतिशत गर्भवति महिलाले मात्र आईरन चक्की सेवन गरेको तथ्यांक छ, त्यसैले रक्त अल्पताका कारण मृत्यु हुने सुत्केरी महिलाको संख्या २३ प्रतिशत देखिन्छ ।’– उनले भनिन् ।
समाजमा प्रजजनन् स्वाथ्य शिक्षको कमी र प्रजनन् स्वाथ्य अधिकारबारे जनचेतना नभएकै कारण धेरै संख्यामा सुत्केरी महिला तथा नवजात शिशुले अकलमा ज्यान गुमाईरहेको उनको भनाई छ । लुम्विीनी प्रदेशमा ४०६ वटा बर्थिङ सेन्टर, २२ वटा शल्यक्रिया सेवा दिने अस्पताल तथा तीन वटा विशेषज्ञ सेवा दिने अस्पताल भएपनि एक हजार शिशु जन्मिँदा ४० जना शिशुको मृत्यु हुने गरेको तथ्यांक उनले जानकारी दिईन् ।
कार्यक्रममा उठाईएका विषय बस्तुको जवाफ दिँदै स्वाथ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले समाजमा अहिले पनि प्रजनन् स्वाथ्य महिलाको मात्र हो भन्ने बुझाई रहेको औंल्याईन् । हरेक मानीसहरु शारिरीक, मानसीक तथा सामाजीक रुपमा नै प्रजनन प्रणाली, यसको कार्य र प्रजनन प्रकृयाको सन्दर्भमा निरोगी हुनु पर्ने उल्लेख गर्दै उनले समाजमा प्रजनन् भन्ने वित्तिकै महिलाको मात्र हो भन्नु गलत बुझाई भएको बताईन् ।
उनले पत्रकार महिलालाई प्रजनन् स्वाथ्य र अधिकारका विषयमा कलम चलाउन आग्रह समेत गरिन् ।
प्रदेशमा प्रजनन् स्वाथ्यको अवस्था र प्रजनन् स्वाथ्य अधिकारबारे जानकारी गराउने उदेश्यले सञ्चारिका समुह नेपालको सहकार्यमा लुम्विनी प्रदेश सरकार स्वाथ्य मन्त्रालय राप्ती उपत्यका दाङ देउखुरीको आयोजनामा अभिमुखिकरण गरिएको हो ।
बाँके र बर्दियाका पत्रकार महिला, जनप्रतिनीधि महिला, तथा अधिकारकर्मी महिलाको सहभागिता रहेको कार्यक्रममा सञ्चारिका समुह नेपाल लुम्विनी प्रदेशका अध्यक्ष अमृता अनमोलले प्रजनन् स्वाथ्य र अधिकारका विषयमा सञ्चार माध्यममा उठाउन सकिने विषय बस्तुबारे जानकारी गराएकी थिईन् । पत्रकार महिला तथा नीजी क्षेत्रमा कार्यरत महिलाहरु गर्भवती तथा सुत्केरी भएकै कारण जागिरबाट हटाईएको उदाहरण दिँदै उनले प्रजन् स्वाथ्य सार्वजनिक सरोकारको विषय बनाउनुपर्नेमा जोड दिईन् ।
पत्रकार चौधरीलाई सुत्केरी भत्ता प्रदान
कार्यक्रममा राससका संवाददाता तथा सञ्चारिका समुह लुम्विनी प्रदेशका महासचिव मेनका चौधरीलाई प्रोत्साहन् स्वरुप नगद ५ हजार सुत्केरी भत्ता प्रदान गरिएको थियो । करिव डेढ महिना अघि दोस्रो सन्तानलाई जन्म दिएकी पत्रकार चौधरीलाई अध्यक्ष अमृता अनमोल, लुम्विनी प्रदेश सरकार स्वाथ्य मन्त्रालयका उपसचिव महेश आचार्य, नर्सिङ अधिकृत सुनिता ज्ञवालीले संयुक्त रुपमा रकम प्रदान गरेका थिए ।
पत्रकारिता गरिरहेका महिलाहरुलाई सन्तान जन्माईसकेपछि पारिवारिक जिम्मेवारी र दवावका कारण पेशाबाट पलायन हुने गरेको भन्दै प्रोत्साहन भत्ता स्वरुप सानो रकम प्रदान गर्न सुरुवात गरेको सञ्चारिका समुह नेपाल लुम्विनी प्रदेशका अध्यक्ष अमृता अनमोलले बताईन् ।
मेनका चौधरी सहित हाल सम्म तीन जना पत्रकार महिलालाई प्रोत्साहन भत्ता प्रदान गरिएको उनले जानकारी दिईन् ।

…..
यसैविच सञ्चारिका समुह लुम्बिनी प्रदेश र आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश कमिटीको आयोजनामा सञ्चालन गरिएको बाँके र बर्दियाका पत्रकार महिलाहरुको क्षमता अभिवृद्विका लागि २ दिने खोज मुलक पत्रकारिता तालिम पनि शुक्रबार समापन भएको छ ।