उपमेयर राईलाई पक्राउ गर्न अदालतको आदेश, प्रहरी भन्छ घटना अनुसन्धानकै क्रममा छ
Sunday, March 12th, 2023, 6:00 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २७ फागुन
अदालतले पक्राउ पुर्जी जारी गरेको एक महिना भन्दा बढी समय बित्दा समेत बाँके प्रहरीले नेपालगन्ज उप–महानगरपालिकाका उपमेयर एवम् जसपा नेता कमरुद्दीन राईलाई पक्राउ गरेको छैन् । बाँके जिल्ला अदालतले गत माघ १८ गते राईलाई दोषि ठहर गर्दै पक्राउ पुर्जी जारी गरेको थियो । उपमेयर राईलाई जिल्ला अदालत बाँकेले सार्वजनिक न्याय विरुद्धको कसुरको बारेमा अनुसन्धान गर्नको लागि पक्राउ पुर्जी जारी गरेको थियो ।
राई विरुद्ध सर्वदेव ओझाले सार्वजनिक न्याय विरुद्धको कसुरमा किटानी जाहेरी दिएका थिए । ओझा पुर्व मन्त्री समेत हुन । अदालतले पक्राउ पुर्जी जारी गरेपनि बाँके प्रहरीले भने यसका बारेमा मौन बस्दै आएको छ । बाँके प्रहरीका अनुसार आरोपको बारेमा अनुसन्धानकै क्रममा रहेकाले उपमेयरलाई पक्राउ नगरिएको हो । सर्वदेव ओझाकी श्रीमतीको नाममा रहेको फर्मको भन्सार क्लियरिङ एजेन्ट रहेको बेला सामानहरुमा ठगी गरेको भन्दैं उपमेयर राई विरुद्ध अदालतमा मुद्दा दायर भएको थियो ।
राई विरुद्धमा प्रहरीमा उजुरी दिन गएपनि प्रहरीले लिन नमानेको ओझाले बताएका छन् । प्रहरीले उजुरी लिन नमानेपछि उनले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत मुद्दा दर्ता गराएका थिए । ओझाले गत पुस २ गते प्रहरीमा जाहेरी दिन गएका थिए । तर प्रहरीले उजुरी दर्ता नगरेको उनले आरोप लगाए । त्यसपछि ओझाले गत माघ ४ गते सरकारी वकिलको कार्यालयमार्फत जाहेरी दिए ।
२०६२ सालदेखि २०६९ सालसम्म बीउको आयात निर्यातको कारोबार गर्ने मनीषा एग्री कन्सर्न नेपालगन्जका भन्सार क्लियरिङ एजेन्ट रहेका राईले २०६७ सालपछि मिली ठगी गरेको विषयमा अदालतमा मुद्दा परेको उल्लेख छ । जाहेरीमा राईले भारतबाट पैठारी गर्ने मनीषा एग्री बायो टेक कम्पनी प्रालिको कागजातमा बाबुको नाम अकबर अली उल्लेख गरेको र अदालतको लिखित वयानमा बाबुको नाम गोबरे कवडिया बताएको उल्लेख गरेका थिए । राईले ठेगाना नेपालगन्ज वडा नम्बर १५ हुनुपर्नेमा नेपालगन्ज–२० भनेर उल्लेख गरेर अदालतलाई पनि गलत सुचना दिएको आरोप लागेको छ ।