हामी जित्नेमा कुनै दुई मत छैन
Friday, March 17th, 2023, 11:46 am
Kalpristha
त्रिभुवन बिश्वबिद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तरगतको नेपालगन्ज नर्सिङ क्याम्पसमा त्रिभुवन विश्वविद्यालयको तालिका अनुसार हुन गैरहेको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनका लागि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ‘अनेरास्ववियु’को तर्फबाट निलिमा गिरिले उम्मेदवारी दिएकी छन् । यहि चैत्र ५ गते हुन गईरहेको स्ववियु निर्वाचनमा उनि सहित सचिवमा देवार्चना अधिकारी, कोषाध्यक्षमा अनुपमा चौधरी, सदस्यहरुमा ईशा पौडेल, विनिता बेल्वासे तथा ममता गौली रहेका छन् । यसैगरि समानुपातिक उम्मेदवार तर्फ प्रिति चनारा, प्रतिक्षा बुढाथोकी, करिमा गुरुङ, सन्जना बस्याल र यमुना साउद रहेका छन् । सोहि क्याम्पसमा अखिल (क्रान्तिकारी), नेपाल विद्यार्थी संघ र अनेरास्ववियू (समाजवादी)को संयुक्त प्यानल निर्माण गरि निर्वाचनमा सहभागी हुदैछन् । एकातिर तिनवटा संगठनको संयुक्त प्यानल छ, भने अर्कोतिर अनेरास्ववियु एक्लै मैदानमा उत्रेको छ । यस सन्दर्भमा निर्वाचनको तयारी र नतिजाको प्रक्षेपण बारे स्वतन्त्र विद्यार्थी यूनियनको सभापतिका उम्मेदवार निलिमा गिरीसँग लक्ष्मी तिमिल्सेनाले गरेको कालपृष्ठ संवाद :
चुनावको तयारी कस्तो छ ?
हामी स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन सफल बनाउनका लागि लागि परेका छौं । अनेरास्ववियुले आफ्नो चुनावी प्रचारप्रसार पनि तिव्र पारेको छ । विद्यार्थी भेटघाटलाई पछिल्लो समय तिव्रता दिएका छौं । भने, विद्यार्थीका समस्या के–के छन् र ति समस्यालाइ कसरी समाधान गर्न सकिन्छ, भन्नेबारेमा छलफल गर्नमा अहिले हामीले आफ्नो ध्यान केन्द्रित गरिरहेका छौं । किनभने, विद्यार्थीका समस्या समाधान गर्ने भनेर नै हामीले हाम्रो उम्मेदवारी दिएका हौं । यसर्थ, हामी उनिहरुकै समस्या सुन्नमा व्यस्त छौं ।
चुनावको नतिजावारे तपाई आंकलन के छ ?
हामी जित्छौं । यसमा कुनै दुई मत नै छैन । किनभने, यस क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुका थुप्रै स–साना देखि ठुला समस्याहरु छन् । जुन समस्याबारे म आफैपनि जानकार छु । हामीले स्वतन्त्र विद्यार्थी यूनियनको नेतृत्वका लागि अनेरास्ववियुबाट अघि बढाएका अन्य साथिहरुपनि क्याम्पसका समस्यालाई समाधान गर्नका लागि संधै पहल र पैरवी गर्दै आउनुभएका साथिहरु हुनुहन्छ । ति समस्या समाधानका निमित्त हाम्रो टिम नेतृत्वमा जानैपर्छ । यसकारण हामी जित्ने कुरामा ढुक्क छौं ।
क्याम्पसका समस्या के–के छन् ?
यस क्याम्पसमा विभिन्न शैक्षिक सुधार गर्नुपर्ने त छँदै नै छ । त्यसका अलावा यहाँ होस्टेलमा बस्ने विद्यार्थीका पनि थुप्रै समस्याहरु छन् । खानेपानी देखि लिएर प्राविधिक कुराहरुसम्मका समस्या हामी कहाँ छन् । यसैगरि सरसफाई र स्वच्छताका कुराहरुमा पनि समस्या छ । गुणस्तरीय प्रयोगशाला निर्माण पनि गर्नैपर्ने छ । समग्रमा भन्नुपर्दा नेपालगंज नर्सिङ्ग क्याम्पसको व्यवस्थापनमा सुधार, शैक्षिक गुणस्तरमा अभिवृद्वि तथा विद्यार्थीको हकहित र न्यायको विषय नै हाम्रा मुख्य समस्याका रुपमा रहेका छन् ।
तिनवटा संगठनको संयुक्त प्यानलसंग अनेरास्ववियु एक्लै मैदानमा छ । यस्तो अवस्थामा चुनाव जित्ने तपाईको रणनिति के हो ?
हामीसँग एउटा सिंगो र सक्षम टिम छ । जसले क्याम्पस भित्रका समस्या समाधानका निमित्त नेतृत्वदायी भुमिका खेल्न सक्छ । जुन टिमले हामीकहाँ देखिएका समस्या समाधानका निमित्त वकालत गर्ने ल्याकत राख्छ । हाम्रो चुनाव जित्ने आधार भनेकै हाम्रो टिम र हामी नेतृत्व गर्न सक्छौं भन्ने आत्मविश्वास नै हो । हामीले हरेक विद्यार्थीका समस्यासँग परिचित उम्मेदवारहरु अघि सारेका छौं । म आफैपनि थुप्रै समस्याहरु देखे भोगेको व्यक्ति हो । यसकारण विद्यार्थी साथीहरुले आफ्ना समस्या समाधानका निमित्त वकालत गर्नका लागि हामीलाई जिताउनु हुनेछ भन्ने करामा म लगायत हाम्रा सबै उम्मेदवार ढुक्क छौं ।
एजेण्डा के–के छन् ?
मैले हाम्रा समस्याबारे अगिपनि भनें । ती सबै समस्या समाधान नै हाम्रा मुख्य एजेण्डाहरु हुन् । र हाम्रो चुनाव जित्ने आधार पनि यीनै हुन् । र हामीले हाम्रा एजेण्डाहरु पनि त्यसै अनुरुप तयार पारेका छौं । क्याम्पसको शैक्षिक गुणस्तर अभिबृद्वि, क्याम्पस भित्र विद्यार्थी मैत्री वातावरण निर्माण, फिल्टर युक्त चिसो र तातो पानीको व्यवस्था, पुस्तकालयमा प्रयाप्त मात्रामा स्रोतहरुको सुनिश्चितता, लाईब्रेरी व्यवस्थपान, कक्षा कोठामा तथा छात्रावासमा सम्पुर्णरुपले प्राविधिक कुराहरुको व्यवस्थापन, पुरुष छात्रावासको व्यवस्था, क्यान्टिनमा गुणस्तरिय खाजा तथा मुल्य समायोजनका लागि पहल, छात्राका लागि निशुल्क प्याड, व्यवस्थित र आधुनिक ल्यावका लागि पहल, सबैकुरामा स्वच्छताका लागि आवश्यक काम गर्ने, पाठ्यक्रम परिमार्जनका लागि पहल र पठनपाठमा गर्नुपर्ने सुधार तथा सबैखाले परिवर्तनका लागि वकालत गर्ने कुराहरु हाम्रा मुख्या एजेण्डाका रुपमा छन् । यसका अलावा भैपरि आउने विद्यार्थीका सबैखाले समस्या समाधानका निमित्त हामी सँधै अग्रपंतीमा रहेर काम गर्ने हाम्रो प्रतिबद्वता त छँदै छ ।
अन्त्यमा ?
अन्त्यमा म के भन्छु भने, क्याम्पसका सबै विद्यार्थी साथीहरुले सबै उम्मेदवारलाई नजिकबाट चिन्नु भएकै छ । यसविषयमा को– कस्तो भन्ने कुरा उहाँहरुहलाई थाहा नै छ । तर, यो समय भनेको विवेक प्रयोग गर्ने समय हो । अवको नर्सिङ क्याम्पस कस्तो हुने भन्ने कुरामा अहिले हुन गैरहेको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा उहाँहरुले गरेको मतदानमा भर पर्छ । यसर्थ निसंकोच भएर हामीलाई जिताउनुस भन्न चाहान्छु ।