चैत्र ४ र ५ गते मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को फिल्ड अडिसन काठमान्डौँमा
Friday, March 17th, 2023, 5:40 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, ३ चैत
इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को फिल्ड अडिसन यहि चैत्र ४ र ५ गते सामाखुसी कपुरधारा स्थित नवोदित कलेजमा हुँदैछ । अडिसन दिन आउँदा प्रतियोगीहरुले आफ्नो उमेर खुलाएको आधिकारिक कागज लिएर आउनु पर्ने हुन्छ । फिल्ड अडिसनबाट चुनिएका प्रतियोगीहरुले काठमान्डौंमा आएर स्टुडियो अडिसनमा सहभागी हुनेछन् ।
डिजिटल अडिसनमा सहभागी भएका प्रतियोगीहरुले पनि अनिवार्य रुपमा फिल्ड अडिसनमा सहभागी जनाउन पर्नेछ । इन्ट्रा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारी भन्छन्, हामी हाम्रो संस्कृति जोगाउन एकजुट भएर लाग्नुपर्छ । हाम्रो पहिचान नै हाम्रो भाषा, संस्कृति, र दुखमा परेकाहरूलाई मद्दत गर्नुमा छ । फाउन्डेसनको मुख्य उद्देश्य पनि नेपाली मनोरञ्जन क्षेत्रमा सांगीतिक क्रान्ति ल्याउनु हो ।
‘मेरो भ्वाइस यूनिभर्स’को निणर्ायक मण्डलमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधान जस्ता वरिष्ठ गायकहरू समावेश छन् । त्यस्तै ‘मेरो डान्स यूनिभर्सको निणर्ायक मण्डलमा भने मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बि.सी, केकी अधिकारी, प्रियंका कार्की, र नरमन राई रहने जनाइएको छ । यी दुई शोहरु नेपालको अहिले सम्मकै सर्वाधिक धनराशी भएको रियालीटी शोहरु हुन् ।
फाउन्डेसनका अनुसार ‘मेरो भ्वाइस यूनिभर्स’का विजेताले एक करोड नेपाली रुपैयाँ पुरस्कार पाउनेछन् । साथै फस्ट रनरअपले ३० लाख नेपाली रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख नेपलाी रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै, ‘मेरो डान्स यूनिभर्स’को विजेताले पनि एक करोड रुपैयाँ पुरस्कार प्रदान गरिनेछ भने फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
त्यस्तै डान्स यूनिभर्स’को सँस्कृतिक समुह विधाको विजेताले पनि २० लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । साथै उक्त बिधाका फस्ट रनरअपले १० लाख रुपैयाँ र सेकेन्ड रनरअपले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
फाउन्डेसनले नेपाल बाहेक, म्यानमार, थाइल्याण्ड, भुटान, भारत, अष्ट्रेलिया, अमेरिका, क्यानडा लगायत युरेपेली देशहरुबाट पनि नेपाली भाषीहरुको बृहत सहभागिताको अपेक्षा राखेको छ ।