क्रिकेट टोलीलाई प्रधानमन्त्रीद्धारा पुरस्कार घोषणा
Friday, March 17th, 2023, 5:42 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, चैत ३ गते
राष्ट्रिय खेलकुद परिषद्का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहालले आईसीसी क्रिकेट विश्व कप लिग टुमा तेश्रो स्थानमा रहँदै विश्व कपको ग्लोबल क्वालिफायरमा स्थान सुरक्षित गर्न सफल नेपाली क्रिकेट टोलीलाई बधाइ दिदै खेलाडीलाई जनही ३ लाख नगद पुरस्कार दिने घोषणा गरेका छन् । प्रधानमन्त्री दाहालले शुक्रबार टोलीलाई बालुवाटरमा भेट गरी बधाइ दिनुका साथै पुरस्कार घोषणा गरेका हुन् । नेपालले बिहीबार युएइलाई ९ रनले पराजित गर्दै जुन-जुलाईमा जिम्बावेमा हुने विश्व कपको ग्लोबल क्वालिफायरमा स्थान पक्का गरेको थियो ।
उक्त खेलअघि कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा पुगी प्रधानमन्त्री दाहालले टोलीको हौसला अभिबृद्धि गर्दै सफलताका लागि शुभकामना दिएका थिए । युएइसंगको खेलअघि नेपालले पपुवा न्युगिनीलाई पराजित गर्दै एक दिवशीय मान्यता सुरक्षित गरेको थियो । प्रधानमन्त्री दाहालले पुरस्कार घोषणा गर्दै भने- ‘तपाईहरुले प्रदर्शन गरेको खेलबाट तपाईहरु सबै धन्यवादको हक्दार बन्नु भएको छ । तपाईहरुलाई हार्दिक बधाइ दिदै म सम्पूणर् विजेता खेलाडीलाई नेपाल सरकारको तर्फबाट ३-३ लाख नगल पुरस्कार दिने पुरस्कार घोषणा गर्छु ।’
प्रधानमन्त्री दाहालले तत्काल टीयू क्रिकेट मैदानमा फ्लड लाइट र स्कोर बोर्ड जडानका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई निर्देशन दिदै आवश्यक पर्ने श्रोत साधनको व्यवस्था नेपाल सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रधानमन्त्री दहालले सुविधा सम्पन्न क्रिकेट रंगशाला निर्माण गर्न प्रयास भइरहेको बताउदै चितवनको क्रिकेट रंगशालामा देखिएको प्राविधिक जटिलतालाई समाधान गरी अगाडि बढाउने बताए । ‘सुविधा सम्पन्न क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ नेपाल सरकारको तर्फबाट अगाडि बढाउने प्रयास भइरहेको छ । चितवनको क्रिकेट रंगशालामा देखिएको प्राविधिक जटिलतालाई पनि समाधान गरी अगाडि बढ्ने छौं ।’ प्रधानमन्त्री दहालले भने- ‘यसले पनि नेपालको क्रिकेटलाई अझ उचाईमा पुर्याउन मद्दत पुग्छ भन्ने विश्वास मैले लिएको छु ।’
प्रधानमन्त्री दाहालले खेलाडीहरुको मेहनतले सबैले गर्वको अनुभूति गरेको भन्दै भने- ‘तपाईहरुको मेहनतले देशको गौरव बढेको छ । विश्व समुदायमा नेपालको प्रतिष्ठा उचो भएको सम्पूणर् नेपालीले महशुस गरेका छन् । नेपाल सरकारले पनि त्यही महशुस गरेको छ । तपाईहरुको सफलताका निम्ति म नेपाल सरकार र मेरो तर्फबाट विशेष सम्मान व्यक्त गर्न चाहन्छु ।’ राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले नेपाली क्रिकेट टोलीको ऐतिहासिक सफलताले खेल क्षेत्रका साथै सिंगो राष्ट्रलाई खुशी तुल्याएको धारणा व्यक्त गर्दै खेलकुदको विकास र विस्तारमा सम्माननीय प्रधानमन्त्रीज्यूले देखाउनु भएको चासोप्रति आभार व्यक्त गर्दै धन्यवाद दिए ।