महेन्द्रमा आज स्ववियु निर्वाचन हुँदै
Wednesday, March 22nd, 2023, 6:00 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ७ फागुन
पश्चिम नेपालको सबैभन्दा पुरानो क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुँदैछ । महेन्द्र बहुमुखी क्याम्पसमा चार हजार एक सय २२ जना मतदाता रहेका छन् ।
महेन्द्र बहुमुखी क्याम्पसमा सभापतिको लागि ५ जनाले उम्मेदवारी दिएको निर्वाचन अधिकृत ठण्डीराज जमरकट्टेलले जानकारी दिए । तरपनि, यस क्याम्पसमा नेविसंघका जीवनराज सुवेदी र अनेरास्ववियुका माधव खत्रीको प्यानलबीच मुख्य प्रतिस्पर्धा हुने आंकलन गरिएको छ ।
यहाँ नेविसंघका सुवेदी, अनेरास्ववियुका माधव खत्री सँगै मुकेश सिङ कुँवरले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यसैगरि नेपाल क्रान्तिकारी विद्यार्थी संगठनबाट भावना थापाले उम्मेदवारी दिएकी छन् । अनेरास्ववियु (क्रान्तीकारी)बाट भने सुजन परियार सभापतिका लागि चुनावी मैदानमा छन् ।
आजको निर्वाचनबाट २५ जना प्रत्यक्ष र ३१ जना समानुपातिक गरि ५६ जना निर्वाचित हुनेछन् । २०६५ साल यता महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको थिएन । बाँकेमा हाल सम्म चार क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भैसकेको छ । जसमा दुईवटा क्याम्पसको सभापतिमा एमाले निकट अनेरास्ववियु, एउटामा कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र एउटामा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) का उम्मेदवार निर्वाचित भएका छन् ।
नेपालगन्ज नर्सिङ क्याम्पसमा नेविसंघ, अनेरास्ववियू समाजवादी, अखिल क्रान्तिकारी संयुक्त प्यानलकी उम्मेदवार दिपिका सोनी, ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पस खजुरामा अनेरास्ववियुका विनय कुमार यादव, बागेश्वरी क्याम्पस कोहलपुरमा पनि अनेरास्ववियुकै देबेन्द्र बुढा सभापतिमा विजयी भएका थिए । जनसिद्देश्वर बहुमुखी क्याम्पस हब्रहवामा अनेरास्ववियू, नेविसंघ र नागरिक विद्यार्थी समाज संयुक्त प्यानलबाट निरा थारु सभापतिका रुपमा निर्वाचित भैसकेकी छिन् ।