महेन्द्रको स्ववियु निर्वाचनमा ४१ प्रतिशत मात्रै मत खस्यो
Wednesday, March 22nd, 2023, 6:57 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ८ चैत
नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा बुधबार सम्पन्न स्ववियु निर्वाचनमा ५० प्रतिशत पनि मतदान हुन सकेन । विहान ८ बजेदेखि साँझ ४ बजेसम्म १६ सय ९१ मात्रै मत खस्यो । जुन जम्मा मतसंख्याको ४१ प्रतिशत मात्रै हो ।
निर्वाचन समितिका अनुसार ४१ सय २२ मतदाता रहेको यस क्याम्पसमा १६ सय ९१ जनाले मात्रै स्ववियु निर्वाचनमा मतदान गरे ।
निर्वाचनमा नेविसंघ र अनेरास्ववियुबीच प्रतिष्पर्धा छ । नेविसंघले नागरिक उन्मुक्ति पार्टीको विद्यार्थी संगठनसंग तालमेल गर्दा बाँकी सबै विद्यार्थी संगठन अनेरास्ववियुसंग संयुक्त गठबन्धनमा छन् ।

….
सभापतिमा नेविसंघबाट जीवनराज सुवेदी र अनेरास्ववियुबाट माधब खत्री चुनावी प्रतिष्पर्धामा छन् । यस्तै अखिल क्रान्तिकारी विद्यार्थी संघबाट भावना थापा, अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बाट सुजन परियार र स्वतन्त्र उम्मेदवार मुकेशसिंह कुँवर पनि सभापतिका उम्मेदवार हुन् ।
सचिवमा नेविसंघबाट नरदेव थारु तथा संयुक्त प्यानलबाट हरेन्द्रबहादुर विक प्रतिष्पर्धामा छन् । यस्तै कोषाध्यक्षमा नेविसंघबाट देवी रेग्मी र संयुक्त प्यानलबाट भरत बुढथापाबीच प्रतिष्पर्धा छ । प्रत्यक्षतर्फ अध्यक्ष, सचिव, कोषाध्यक्ष र आठ जना सदस्यका लागि निर्वाचन भएको छ ।भने बाँकी पदमा समानुपातिक प्रणालीबाट मतदान भएको क्याम्पसका निर्वाचन अधिकृत ठण्डिराज जमरकट्टेलले जानकारी दिए ।
यस क्षेत्रको ठूलो र पुरानो क्याम्पस भएकाले पनि यहाँको निर्वाचनलाई सबै राजनितिक दलहरुले चासोका साथ हेरेका छन् । विहान ८ बजेदेखि सुरु भएको मतगणना अपरान्ह ४ बजेसम्म चलेको थियो । अब केहीबेरमा मतगणना सुरु हुनेछ ।

…..