राष्ट्रिय टिममा बाँकेका दीपकको डेब्यु
Wednesday, March 22nd, 2023, 10:07 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, ८ चैत
बाँकेका खेलाडी दीपक सिंह ठकुरीले नेपाली राष्ट्रिय फुटबल टिममा डेब्यु गरेका छन् । काठमाडौंमा भएको प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता अन्तर्गत लाओसविरुद्धको खेलबाट दीपकले राष्ट्रिय टिममा डेब्यु गरे । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लाओसविरुद्ध दोस्रो हाफमा नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गर्दै दीपकले राष्ट्रिय टिममा डेब्यु गरेका हुन् । दीपकले सातदोबाटो युथ क्लबबाट ए डिभिजन लिग खेलिरहेका छन् ।
बाँकेका फरवार्डले लिगमा ४ गोल गरिसकेका छन् । उनी लिगको सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा रहेका छन् । यसैगरी बुधबार नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको पहिलो खेलमा नेपालले लाओसलाई २–० गोल अन्तरले हरायो ।
नेपालको जितमा अनन्त तामाङ र नवयुग श्रेष्ठले एक–एक गोल गरे । अनन्तले ३०औं मिनेट र नवयुगले ५६औं मिनेटमा गोल गरेका थिए । यसैगरी साफ यू– १७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले फराकिलो जित निकालेको छ ।
ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा बुधबार नेपालले भुटानलाई ५–० गोल अन्तरले हराएको हो ।
नेपालको जितमा वर्षा ओली र सेनु परियारले २–२ गोल गरिन् । दिपा रोकायाले एक गोल गरिन् ।