जानकीमा २० दिने आधारभूत सिप विकास तालिम समापन
Friday, March 24th, 2023, 7:00 pm
Kalpristha
रबिन्द्र घिमिरे
जानकी, १० चैत
बाँकेको जानकीमा सञ्चालित २० दिने आधारभूत जुत्ती चप्पल स्यान्डील सम्बन्धी सिप विकास तालिम समापन भएको छ । जानकी गाउँपालिकाको आर्थिक सहयोग तथा लघु उधम शाखाको आयोजनामा उक्त तालिम संचालन गरिएको थियो ।
जानकी गाउँपालिकाको वडा नम्वर ६ किट्टापुरमा आधारभुत जुत्ती चप्पल स्यान्डील सम्बन्धी सिप विकास तालिमको शुक्रवार समापन भएको हो । महिलालाई सीपमार्फत आर्थिक स्वावलम्वि बनाउने उद्देश्यले संचालित उक्त तालिममा १० जना महिलाहरुको सहभागिता रहेको थियो ।
समापन कार्यक्रममा बोल्दै पालिका अध्यक्ष छब्बन खाँले महिलाहरु सीप सिकेर स्वावलम्बि बन्नुपर्ने धारणा राखे । उनले महिलाहरुको क्षमता अभिबृद्धिका लागि जानकी गाउपालिका निरन्तर सहकार्य र समन्वयको भूमिका खेल्दै अघि बढ्ने बताए ।
समापन कार्यक्रममा तालिममा सहभागिता महिलाहरुलाई २ वटा जुत्ती चप्पल सिलाउने मेशिन ,२ वटा पेन्चिस , २ वटा ह्याम्वर , २ वटा कैची र २ वटा मल्टीप्लग समेत वितरण गरिएको लघु उधम शाखाकी प्रमुख सावित्री रेग्मीले बताईन ।
समापन कार्यक्रममा पालिकाकी उपाध्यक्ष रामप्यारी यादव , वडा नम्वर ६ का वडा अध्यक्ष जगदिश प्रसाद हरिजन , पालिकाकी उपाध्यक्ष रामप्यारी यादवको स्वकिय सचिव शिवा यादव , लघु उधम शाखाकी प्रमुख सावित्री रेग्मी , अमृता परियार र योजना शाखाकी प्रमुख शोभा पौडेल लगाएतको उपस्थिती रहेको थियो ।