बनकटवामा ५ सयले गराए स्वास्थ्य परिक्षण
Friday, March 24th, 2023, 10:22 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
बैजनाथ, १० चैत
बाँके बैजनाथ गाउँपालिकाको बनकटवामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर आयोजना गरिएको छ । टिटिहिरीया आयुर्वेद औषधालय बैजनाथ गाउँपालिकाको आयोजना र नेपालगन्ज जनरल आयुर्वेद अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा ५ सय बढी विरामीको स्वास्थ्य परिक्षण गरिएको थियो । शिविरमा करिब २ सय जनाको सुगर परिक्षण पनि गरिएको थियो ।
शुक्रबार एक कार्यक्रमका बिच बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश शाहीले शिविरमा परिक्षण गराउन आउनु भएका बृद्धको पर्चा काटेर शिविरको उद्घाटन गरिएको थियो । उद्घाटन कार्यक्रममा नेपालगन्ज जनरल आयुर्वेद अस्पतालका अध्यक्ष एवम् संविधान सभा सदस्य मैकुलाल वाल्मिकी, आयुर्वेद अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रभाकर मिश्र, डा. शिवराज सुवेदी, डा. प्रतिक्षा केसी गौतम, डा. मनोज कुमार यादव, आयुर्वेद अस्पताल व्यवस्थापन प्रमुख प्रिन्सी मिश्र, पदमा थापा, केशव रोकाय, सन्जिव कुमार थारु, अवन्तिका पाठक, बबिता खड्का, वर्षा गुप्ता, मनिषा घर्तीमगर लगातयको सहभागिता रहेको थियो ।
गाउँपालिकाका नागरिकको स्वास्थ्य अवस्थालाई सुधार गर्दै सहज रुपमा स्वास्थ्य सेवा नागरिकसम्म पु¥याउने उद्देश्यले शिविरको आयोजना गरिएको बैजनाथ गाउँपालिका अध्यक्ष शाहीले बताए नेपालगन्ज जनरल आयुर्वेद अस्पतालका अध्यक्ष एवम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका वाल्मिकीले बाँकेका हरेक स्थानीय तहका नागरिकसम्म आयुर्वेदको बारेमा सकारात्मक भावना जागृत गराउनका लागि अस्पतालले निःशुल्क रुपमा शिविर संचालन गर्ने योजनाका साथ अगाडी बढेको बताए ।
बाँकेका अन्य स्थानीय तह र वडाहरुमा विभिन्न संघ संस्थासँग सहकार्य गरेर शिविरको आयोजना गर्ने आफुहरुले तयारी गरिरहेको अध्यक्ष वाल्मिकीले बताए । शिविर आयोजनामा प्राविधिक सहयोग गरेकोमा नेपालगन्ज जनरल आयुर्वेद अस्पताललाई धन्यवाद दिदैं अध्यक्ष शाहीले आगामी दिनमा पनि अस्पतालसँग मिलेर आयुर्वेदको क्षेत्रमा काम गर्ने बताए ।