गौतमबुद्ध क्रिकेट रंगशाला सरकारले बनाउने
Sunday, March 26th, 2023, 6:13 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १२ चैत
रकम अभावका कारण रोकिएको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने भएको छ । धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा बनाउन लागेको अन्तराष्ट्रिय स्तरको रंगशाला रकम अभावका कारण अलपत्र अवस्थामा छ । सरकारले मन्त्रीपरिषद्बाट निर्णय गरेर अलपत्र अवस्थामा रहेको रंगशालाको निर्माण कार्य अघि बढाउने अन्तिम तयारी गरेको हो ।
धुर्मुस सुन्तली फाउन्डेसनले आर्थिक स्रोत जुटाउन नसकिएको उल्लेख गर्दै सहमती अनुसार स्वामित्व लिन भरतपुर महानगरलाई अनुरोध गरेको थियो । महानगरले समेत औपचारिक निर्णय गरेर स्वामित्व ग्रहणको प्रक्रिया अघि बढाएको थियो ।
धुर्मुस सुन्तलीको ऋण सरकारले तिरिदिने बताएपनि निर्माणको दुई मोडालिटीमा छलफल भैरहेको छ । निर्माणको बाँकी काम संघीय सरकार आफैले बनाउने वा प्रदेश सरकारले निर्माणको जिम्मेवारी लिएर संघीय सरकारले ससर्त अनुदान दिने भन्ने विषय छलफलमा छ । बागतमी प्रदेश सरकार आफै निर्माणको जिम्मेवारी लिएर अन्तराष्ट्रिय क्रिकेट रंगशालामा काम गर्न इच्छुक देखिएको छ ।
साढे ३ अर्व लागतको परियोजनामा ५४ करोड रुपैयाँ खर्च भएको धुर्मुस सुन्तली फाउन्डेसनको जनाएको छ । कोभिडका कारण बिग्रिएको आर्थिक अवस्थाका कारण १८ करोड ऋण लागेको फाउन्डेसनले बताउने गरेको छ । रंगशालाको भौतिक पूर्वाधारको ३५ प्रतिशतको काम सकिएको फाउन्डेनको दाबी छ ।