आइपिओ निष्कासन गर्दै मकर जितुमाया हाइड्रोपावर
Sunday, March 26th, 2023, 6:15 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १२ चैत
मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले चैत १९ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेपछि सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले जारी पुँजीको ३० प्रतिशत अर्थात् २२ करोड ८० लाख रुपैयाँ बराबरको आइपिओ निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २२ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गर्नेछ ।
जसमध्ये कम्पनीले ५ प्रतिशत अर्थात् ८० हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ३२ लाख २८ हजार कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याएको छ । बाँकी रहेको १३ लाख ३७ हजार ३०२ कित्ता सेयर भने कम्पनीले सर्वसाधारणका लागि वितरण गर्न लागेको हो ।
उक्त आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आइपिओमा छिटोमा चैत २२ गतेसम्म आवेदन दिन सकिनेछ भने उक्त समयमा माग बमोजिम आवेदन नपरेमा बिक्री अवधि २०८० वैशाख ३ गतेसम्म लम्बिनेछ ।
कम्पनीलाई केयर रेटिङ नेपालले ’केयर एनपी डबल बी इस्युअर’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।