‘८५ प्रतिशत बिवाद मेलमिलापबाट समाधान गर्न सकिन्छ’
Friday, March 31st, 2023, 10:06 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १७ चैत
नेपालगञ्जमा संचालन भएको आठ दिवसिय मेलमिलाप तालिम शुक्रबार सम्पन्न भएको छ । चैत्र १० गतेबाट संचालन गरिएको उक्त तालिमको समापन समारोहमा बोल्दै तुल्सीपुर उच्च अदालत नेपालगञ्जका मुख्य न्यायधिस रत्न बहादुर बागचनले हरेक जीवन्त समाजमा कुनै न कुनै बिवाद स्वभाविक रुपमा बिद्यमान हुने भएकोले त्यसलाई सकारात्मक रुपमा समाधान गर्न सके समाज उन्नतितर्फ जाने बताए ।
उक्त कार्यक्रममा बोल्दै उनले उचित समाधान नगरिएको बिवादले समाजमा बैमनस्यता ल्याउने र समयमै समाधान गरिने बिवाद, द्धन्द्धले सकारात्मक परिणाम समेत ल्याउने बताए । तर त्यसको सहि समाधान मेलमिलापकर्ताले मात्र गर्न सक्ने बताए । यसैगरी कार्यक्रममा उच्च अदालत तुल्सीपुरका न्यायधिश बामदेव ज्ञवालीले नेपालगञ्जमा मेलमिलापको अवस्था नाजुक रहेकोले तालिमको आयोजना गर्नु परेको धारणा राखे । उनले समाजलाई सकारात्मक र रचनात्मक बनाउनको लागि सकारात्मकता खोजि जरुरी हुन्छ जुन मेलमिलापबाट मात्र सम्भव हुने बताए ।
मेलमिलाप मुद्दा दायर गर्नु पूर्व, मुद्दा सुनुवाईका क्रममा र कतिपय अवस्थामा सुनुवाई पश्चात अर्थात फैसला कार्यान्वयनको चरणमा पनि हुन सक्ने ज्ञवालीले बताए । तालिमको प्रमुख प्रशिक्षक तथा सामुदायिक मेलमिलाप समाजकि अध्यक्ष शोभा बस्नेतले बिवादका पक्षहरुबीच सहमती कायम गरी बिवादको समाधान गर्ने सिपको प्रयोग गरि कुशल सहजकर्ताको भुमिकामा मेलमिलाप तालिम प्राप्त जनशक्तिले बिवाद मिलाउनेमा आफु बिश्वस्त रहेको बताईन् ।
पूर्व न्यायधिश, अधिवक्ता, शैक्षिक क्षेत्रमा लामो समय योगदान दिएका ब्यक्ति, समाजसेवि, पत्रकार, सामाजिक अधिवक्ता, पूर्व सरकारी कमचारी आदि गरि २६ जनाको सहभागितामा संचालन गरिएको उक्त तालिमको संचालन उच्च अदालतका प्रशासकिय अधिकृत बिर बहादुर बिकले गरेका थिए ।
तालिमको समापन समारोहमा सहभागिका तर्फबाट बोल्दै पत्रकार तथा मुस्लिम समुदायकि सामाजिक अभियान्ता शाहिदा बानो शाह र पूर्व न्यायधिश यज्ञराज भट्टले तालिममा सिकेका कुराहरु जिवन उपयोगि रहेको बताए ।
समाजमा उत्पन्न हुने १ सय बिवाद मध्ये ८५ प्रतिशत बिवाद मेलमिलापबाट समाधान गर्न सकिने किसिमका हुन्छन् । १५ प्रतिशत विवाद मात्र अदालतमा दर्ता हुने र त्यो मध्येपनि अधिकाँश विवाद मेलमिलापबाट समाधान हुन सक्ने अवस्था रहन्छ ।
मेरो प्लानेटमा संचालन भएको उक्त तालिममा मेलमिलाप परिषदका अध्यक्ष सर्बोच्च अदालतका माननीय न्यायधिश ईश्वर प्रसाद खतिवडा, टेक प्रसाद ढुङ्गाना, भानुभक्त रिजाल लगायतले प्रशिक्षण दिएका थिए । द एसिया फाउण्डेशनको सहयोग तथा मेलमिलाप परिषद नेपाल र सामुदायिक मेलमिलापकर्ता समाजको आयोजना, उच्च अदालत तुल्सीपुरको समन्वयमा उक्त तालिम संचालन गरिएको थियो ।

………….