‘पाँच महिनामा सकारात्मक रिजल्ट आउनु पर्छ’ (भिडियो सहित)
Saturday, April 1st, 2023, 9:24 pm Kalpristha
कालपृष्ठ समाचारदाता नेपालगन्ज, १८ चैत
नेपाली कांग्रेसका महामन्त्री एवम् पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री गगन थापाले देशमा जनता डराईरहेको बेला सरकारमा गएको नेपाली कांग्रेसले सकारात्मक उपलब्ध हासिल गर्ने लक्ष्य सहित काम गर्नु पर्ने अवस्था आएको बताएका छन् ।
नेपाली कांग्रेस बाँकेको प्रथम जिल्ला सम्मेलन तथा १४औं महाधिवेशनको अवसरमा महामन्त्री थापाले नेपाली कांग्रेसबाट सरकारको नेतृत्वमा गएका मन्त्रीहरुले नतिजा आउने काम गर्नु पर्ने चुनौति रहेको बताए ।
अबको पाँच महिना भित्र सरकारमा गएका कांग्रेसका मन्त्रीहरुले सकारात्मक नतिजा निकाल्न सक्नु पर्नेमा थापाले जोड दिए । उनले भने,‘हामी विगत जस्तो सहज अवस्थामा सरकारमा गएको छैनौं । अहिले जनता डराईरहेका छन् । आर्थिक अवस्था इतिहासकै कमजोर अवस्थामा छ । ऋण लिन सक्ने अवस्था छैन । स्थानीय उत्पादन घटिरहेको छ । व्यवसायी डराईरहेका छन् । सरकारलाई आन्तरिक खर्च धान्न समस्या हँुदै गएको छ । यस्तो अवस्थामा स्थानीय देखि लिएर प्रदेश र संघमा नेतृत्व गर्ने कांग्रेसका नेता तथा कार्यकर्ताले जिम्मेवार भएर यो संकटबाट देशलाई उकास्न सक्नु पर्छ ।’
शनिबार नेपालगन्जमा भएको जिल्ला सम्मेलनमा प्रमुख अतिथिका रुपमा आएका महामन्त्री थापाले पार्टीलाई बलियो बनाउने विषयमा पनि आफना धारणा राखेका थिए । क्रियाशिल सदस्यता वितरण, टिकट वितरण, भातृ संगठनलाई चलाएमान बनाउने बारेमा महामन्त्री थापाले पार्टीले अवलम्बन गर्न लागेको नीतिको बारेमा सम्मेलनमा बताएका थिए । उनले भने,‘९० प्रतिसत समय पार्टीभित्र एक अर्कालाई सक्काउने र पछाडी पार्ने बारेमै हामीले खर्चिरहेका छौं । क्रियाशिल सदस्यता वितरणलाई सहज बनाउनु पर्छ । एउटा मापदण्ड बनाएर अनलाईनबाट सदस्यता लिन सक्ने बनाउनु पर्छ । तर हामीले त्यो गर्न सकेका छैनौं । जसले गर्दा सधै क्रियाशिल सदस्यता वितरणमा समस्या आइरहन्छ ।’
पार्टी वा सरकारका विभिन्न तहको लागि नेता छनोट गर्ने काम अब केन्द्र होइन स्थानीय स्तरबाट सुरुआत गर्नु पर्ने थापाले बताए । उनले थपे,‘हरेक तहमा क्रियाशिल सदस्यले नै नेता छान्न सक्छन् । त्यसको लागि एउटा निति बनाउन सकिन्छ । स्थानीय तहमै नेता छनोट गर्न नसकेर केन्द्रमा पठाउँदा त्यहाँ थुप्रै प्रभाव कारण टिकट वितरण सधै विवादमा आउने गरेको छ ।’
नेपाली कांग्रेस बाँके पार्टी सभापति नारायण प्रसाद गौडेलको अध्यक्षतामा भएको सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् संविधान सभा सदस्य मैकुलाल वाल्मिकी, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभा सभापति अम्मर पुन, लुम्बिनी प्रदेश सभासद एवम् संविधान सभा सदस्य बादशाह कुर्मी, सन्जु चौधरी, पुर्व मन्त्री एवम् बाँके जिल्ला पुर्व पार्टी सभापति गजेन्द्र हमाल, कृष्णमान श्रेष्ठ, निर्वतमान सभापति किरण कोइराला लगायतले पार्टीलाई मजबुद बनाउँदै आम नागरिकको समस्या समाधान गर्नमा पार्टी पंक्तिले ध्यान दिनु पर्ने धारणा राखेका थिए ।
प्रथम जिल्ला सम्मेलनमा सभापति गौडेलले आर्थिक वर्ष २०८०–८१ को वार्षिक नीति तथा कार्यक्रम, सचिव शुधान्सु कोईरालाले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष यज्ञ बहादुर बस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रथम जिल्ला अधिवेशनको अवसरमा उत्कृष्ट काम गर्ने नेपाली कांग्रेसको वडा कार्यसमिति, महिलाले नेतृत्व गरेको वडा कार्यसमिति, स्वतन्त्र सेनानी, पुर्व पार्टी सभापतिहरु, सहिद परिवारका सदस्यलाई सम्मान गरिएको थियो ।
जिल्ला पार्टी सभापति गौडेलले नेपाली कांग्रेस बाँकेले जिल्लामा पार्टीलाई बलियो बनाउन वार्षिक योजना बनाएर योजनावद्ध रुपमा काम गरिरहेको बताए । गौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा जिल्लाले आर्थिक वर्ष २०८०–८१ मा विभिन्न ३७ योजनाहरु समावेश गरिएका छन् । जसमा आगामी तिन वर्षमा सुशिल कोइराला स्मृति भवन निर्माण गर्ने देखि लिएर पार्टीले सामाजिक, आर्थिक र सामाजिक समस्याहरुलाई समाधान गर्दै पार्टीका भाृत तथा शुभेच्छुक संगठनलाई चलाएमान बनाउँदै जाने योजना समावेश गरिएका छन् ।