गुरुकुल उत्कृष्ट सहकारी पुरस्कार–२०७९ बाट पुरस्कृत
Monday, April 3rd, 2023, 6:49 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २० चैत
गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेड उत्कृष्ट सहकारी पुरस्कार–२०७९ बाट पुरस्कृत भएको छ । सोमबार जिल्ला सहकारी संघ लिमिटेड नेपालगन्ज बाँकेले ६६औं राष्ट्रिय सहकारी दिवस– २०७९ को अवसरमा आयोजना गरेको कार्यक्रममा गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई उत्कृष्ट सहकारीको रुपमा पुरस्कृत गरिएको हो ।
‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने मुल नाराका साथ यस वर्ष ६६औं सहकारी दिवस देशभर मनाईएको छ । जस अन्तर्गत बाँके जिल्लाको सहकारी अभियानमा उच्च योगदान दिएको गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेपालगन्जलाई सम्मान गरिएको हो । सोमबार नेपालगन्जमा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लिमिटेड नेपालका अध्यक्ष केबि उप्रेती, आयोजक जिल्ला सहकारी संघ लिमिटेड बाँके अध्यक्ष प्रेम प्रसाद सुवेदी, प्रबन्ध संचालक नवराज उपाध्याय लगायतले गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रबन्धक टिकाराम चौधरीलाई सम्मान गरे ।
सम्मान कार्यक्रममा केन्द्रिय कृषि सहकारी संघ संचालक सदस्य देव बहादुर केसी, केन्द्रिय बहुउद्देश्यीय सहकारी संघ संचालक सदस्य उपेन्द्र प्रसाद अधिकारी, खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुफान, नेपालगन्ज उप–महानगरपालिका उप–मेयर कमरुद्दिन राई, नेपालगन्ज उप–महानगरपालिका सहकारी शाखा प्रमुख प्रविण कुमार राना लगायतको उपस्थिती रहेको थियो ।

………….
गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाँकेमा पछिल्लो समय उत्कृष्ट काम गर्दै आएको सहकारी हो । २०६७ साल भदौं १४ गते स्थापना भएको गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले लघु उद्यम र सामाजिक क्षेत्रमा उत्कृष्ट काम गर्दै आएको छ । गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले लघु उद्यमको क्षेत्रमा सेभ द चिल्ड्रेन, सामाजिक विकास मंच जस्ता संस्थासँग सहकार्य गरेर निम्न आर्यस्तर भएका युवाहरुलाई सिप सिकाउँदैं आर्थिक रुपमा आत्मनिर्भर बन्न सहयोग गर्दै आएको छ ।
यसका साथैं गुरुकुलले बाँकेका विभिन्न स्थानीय तह र वडाहरुसँगको सहकार्यमा अन्य सामाजिक कार्य गर्दै आएको छ । नेपालगन्ज उप–महानगरपालिकाको २ नम्बर वडासँगको सहकार्यमा निःशुल्क रुपमा व्यवसायिक तालिम, ३ नम्बरसँगको सहकार्यमा आखाँ शिविर र ८ नम्बर वडासँगको सहकार्यमा सार्वजनिक क्षेत्रमा रंगरोगन र सरसफाई जस्ता काम गर्दै आएको छ । यसैगरी गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमसँगै समुदायका निम्न विद्यार्थीहरुको लागि सामुदायिक विद्यालयहरुलाई शैक्षिक सामाग्री सहयोग, बृक्षारोपण, विपन्न वर्गका बालबालिकालाई सहयोग गर्दै आएको गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रदिप चौधरीले बताए ।
बाँकेमा यस वर्षको उत्कृष्ट सहकारीको रुपमा पुरस्कृत भएपछि आगामी दिनमा नयाँ काम गर्न थप उर्जा थपिएको गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रबन्धक टिकाराम चौधरीले कालपृष्ठ दैनिकलाई बताए ।
उनले भने,‘यो सम्मान हाम्रो लागि निकै महत्वपुर्ण छ । हाम्रो टिमले गरेको मिहिनेतको नतिजा हो । यसका लागि गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सम्पुर्ण पदाधिकारी, संचालक समिति, कर्मचारी, सेयर सदस्य, बचतकर्ता, ऋणी र शुभेच्छुकहरु प्रति हामी आभार प्रकट गर्न चाहन्छौं ।’ आउँदा दिनमा समुदायमा निम्न वर्गका जनताको आर्थिक अवस्था माथि उकास्न सहकारीले अन्य थुप्रै रचनात्मक कार्यहरु गर्ने योजना बनाएको प्रबन्धक चौधरीले बताए ।