सिक्टामा भएको भ्रष्टाचार प्रकरणमा सर्वोच्चमा पुनरावेदन
Wednesday, April 5th, 2023, 4:40 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २२ चैत
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा भएको भ्रष्टाचार प्रकरणमा विशेष अदालतले गरेको फैसलाविरूद्व सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालतले केही समयअघि भ्रष्टाचार आरापी पूर्वमन्त्रीसमेत रहेका राप्रपाका सांसद विक्रम पाण्डेसहित २१ जनालाई गत असार सफाइ दिएको थियो ।
सर्वोच्चमा मंगलबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पुनरावेदन दायर गरेको प्रवक्ता भोला दाहालले बताए । अख्तियारले साढे आठ अर्ब रुपैयाँ बराबर भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका प्रमुख पाण्डे, आयोजना प्रमुखहरू सर्वदेव प्रसाद, सरोजचन्द्र पण्डित, दिलीपबहादुर कार्की, रमेश बस्नेत, आयोजनाका ९ जना सिडिई इन्जिनियर, सिँचाइ विभागका तीन इन्जिनियर, कालिका कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक बिक्रम पाण्डे र ३ जना इन्जिनियर विरूद्व भ्रष्टाचार मुद्दा दायर भएको थियो ।
ठेक्का सम्झौता विपरीत ठेकेदार कम्पनी र सिँचाइ आयोजनाका प्रमुख तथा इन्जिनियरले नहर निर्माणमा अनियमितता गरेको अख्तियारको ठहर छ । सिक्टामा भएको भ्रष्टाचार विरुद्व निरन्तर आवाज उठाउँदै आएका विकासका लागि नागरिक सरोकार समिति बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा मुद्दा पुगेपछि अब कतैबाट प्रभावित नभएर निष्पक्ष फैसला हुनेमा आशा जागेको बताए ।
‘सिक्टामा भएको कमसल निर्माणबारे धेरै समिति र विज्ञ टोली आएर अनुगमन गरे, सबैले कमजोरी औँल्याएकै हुन्, तर विशेष अदालत जस्तो निकायले भ्रष्टाचारका आरोपीलाई सिधै सफाई दिने काम गर्यो, यसले सबैमा निराशा छाएको अवस्थामा अब यो मुद्दा सर्वोच्च अदालतले हेर्ने भइसकेपछि सर्वोच्चले गम्भीर ढंगले छानबिन गर्नुपर्छ,’ श्रेष्ठले भने ।