युवा संघको महाधिवेशन तयारी पूरा, दुई हजार अतिथि नेपालगन्ज आउँदैं
Sunday, April 9th, 2023, 8:36 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २६ चैत
नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नवौ राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।
आज चैत २७ देखि २९ गतेसम्म नेपालगञ्जमा हुने नवौ राष्ट्रिय महाधिवेशनको तयारीका सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टी पोलिटव्यूरो सदस्य एवम युवा विभाग इन्चार्ज महेश बस्नेतले समग्र युवा आन्दोलनको समिक्षा गर्दै युवालाई सामाजिक रुपान्तरण गर्न महाधिवेशनले मार्गनिर्देशन गर्ने बताए ।
‘रचनात्मक, सिर्जनशिल र नवीनतम काम गर्दै आईरहेको युवा संघ नेपाल बाघ संगठन हो ।’–उनले भने । ‘महाधिवेशनमा समसामयिक राजनीति र युवा आन्दोलनमा भ्रष्टिकरण र अपराधीकरणलाई परास्त गर्दै अवको कार्यदिशाको गम्भीर समिक्षा हुनेछ । युवा आन्दोलनमा अराजकतावादी तत्वको प्रभाव पर्न दिईनेछैन ।’
उनले राष्ट्रिय युवा संघको नवौ राष्ट्रिय महाधिवेशनबाट कुनै प्रदेशमा धेरै पदाधिकारी, केन्द्रीय सदस्य पर्ने र कुनै प्रदेशमा कोही पनि नपर्ने परिपाटीको अन्त्य गर्दै महिला प्रतिनिधित्व ३३ प्रतिशत सुरक्षित गरिने दावी गरे ।
पत्रकार सम्मेलनमा राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको बताए । कर्णाली र सुदूरपश्चिम प्रदेशलाई समेत पायक पर्ने गरी लुम्बिनी प्रदेशको नेपालगन्जमा महाधिवेशन गरिएको उल्लेख गर्दै उनले दशकपछि हुन थालेको महाधिवेशनले नेतृत्व चयनमात्रै नभई युवाका अहिलेका मुद्दा र राजनीतिप्रति युवाको निराशालाई समेत सम्वोधन गर्ने जानकारी दिए ।
महाधिवेशनबाट नेतृत्व चयन सर्वसहमत गर्ने प्रयास भईरहेको उल्लेख गर्दै अध्यक्ष पौडेलले प्रतिनिधिको चाहना र भावना अनुसार अघि बढ्ने बताए ।
‘नेतृत्व चयनको लागि सर्वसहमत वा निर्वाचन गर्ने भन्ने प्रतिनिधिको जे माग हुन्छ त्यहि भावना अनुसार अघि बढिने छ ।’– ‘पार्टी र युवा संघमा राजनीतिक वा बैचारिक कुनै गुटबन्दी छैन पद प्राप्तीको लागि टकराव हुनसक्छ यसलाई हामीले व्यवस्थापन गर्नेछौँ ।’
महाधिवेशनले पार्टीको नीति, निर्णय र नेतृत्वलाई आत्मसाथ गर्दै अहिले युवाको मुद्दामा छलफल गर्नुका साथै राजनीतिप्रति युवा पुस्ताको निराशा अन्त्य गर्ने उनको भनाई छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनको उद्घाटन समारोहलाई भव्य बनाउन मञ्च व्यवस्थापन, आवास तथा खाद्य व्यवस्थापन, प्रतिनिधि व्यवस्थापन लगायतका कामहरु धमाधम भईरहेको राष्ट्रिय युवा संघ नेपालका प्रवक्ता महाराज गुरुङल बताए ।
महाधिवेशनको उद्घाटन समारोहलाई भव्य र ऐतिहासिक बनाउने गरी मञ्च निर्माणको कार्य भईरहेको उनको भनाई छ । महाधिवेशन उद्घाटन समारोहमा नेकपा (एमाले) बाँकेसँगको समन्वयमा दश हजार बढि जनपरिचालन गरिने उनले बताए ।
महाधिवेशन उद्घाटन समारोहमा पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष रामबहादुर थापा (बादल), महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य एवम् मोर्चा संगठन इन्चार्ज भानुभक्त ढकाल, पोलिटव्यूरो सदस्य महेश बस्नेत लगायतका नेताहरु सहभागि हुने छन् ।
उद्घाटन समारोहमा कलाकार बद्रि पंगेनी, राजा राजेन्द्र, अस्मिता अधिकारी, रबि वड लगायतले सांगीतिक प्रस्तुती दिने कार्यक्रम तय भएको छ । महाधिवेशनको तयारीको लागि संघका केन्द्रीय अध्यक्ष किरण पौडेल, केन्द्रीय उपाध्यक्षहरु, महासचिव लगायतका नेताहरु कार्यक्रम स्थल नेपालगन्जको होटल स्नेहमा खटिएका छन् ।
महाधिवेशनमा भाग लिन देशभरीका दुईहजार बढि प्रतिनिधि र अतिथिहरु नेपालगन्ज आउदै छन् । प्रतिनिधि तथा अतिथिहरुलाई नेपालगन्ज र कोहलपुरका होटलमा बासको व्यवस्था गरिएको महाधिवेशन मूल आयोजक समिति सह संयोजक केन्द्रीय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश इन्चार्ज सुमन पुरीले जानकारी दिए ।

…