युवा संघको अध्यक्षमा चार जनाको दाबी
Monday, April 10th, 2023, 5:39 am
Kalpristha
लक्ष्मी तिमिल्सेना
नेपालगन्ज, २७ चैत
आजबाट २९ गतेसम्म नेकपा एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशन बाँकेको नेपालगन्जमा सुरु हुँदैछ । ४० वर्ष उमेर हदको वैधानिक व्यवस्था भएकाले हालको नेतृत्व दोहोरिने अवस्था छैन । महाधिवेशनले नेतृत्व परिवर्तन गर्नेछ ।
महाधिवेशन उद्घाटन समारोहमा पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष रामबहादुर थापा (बादल) तथा विष्णु पौडेल, महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य एवम् मोर्चा संगठन इन्चार्ज भानुभक्त ढकाल, पोलिटव्यूरो सदस्य महेश बस्नेत लगायतका नेताहरु सहभागि हुनेछन् । नेतृत्व छनोटमा उनीहरुले समेत महत्वपुर्ण भुमिका खेल्नेछन् ।
अहिले एमाले पार्टी भित्र अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री केपी शर्मा ओली भन्दा फरक मत राख्ने समुह निकै कमजोर छ । तर अध्यक्ष ओली पछिको वरियताका नेता भने आ–आफनो समुह बलियो बनाउने आन्तरिक रणनितिमा रहनेछन् युवा संघको अधिवेशनमा । नेपालगन्जमा हुने अधिवेशनमा विशेष गरी महासंचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल समुहबिच पदमा लागी दाबी देखिने सम्भावना रहेको छ । तर पार्टीको नेताहरुले गुट उपगुटका बारेमा भने खुलेर बताउँन चाहदैनन् ।
नेकपा एमालेका एक केन्द्रिय स्तरका नेताले पार्टीभित्र फरक मत राख्ने समुह भएपनि अन्तिममा केन्द्रिय नेतृत्वको निर्णय अन्तिम हुने बताउँछन् ।
अधिवेशनबाट नयाँ नेतृत्व समेत चुनिने भएकाले यस आयोजनालाई महत्वपुर्ण दृष्टिकोणले हेरिएको छ भने, पदाधिकारीका आकाँक्षीहरु नतिजा आफ्नो पक्षमा पार्नका लागि प्रयासरत छन् । बहालवाला महासचिब क्षितिज थेबेलाई राष्ट्रिय युवा संघ नेपालको अध्यक्षको लागि बलियो दावेदारका रुपमा हेरिएको छ ।
गृह जिल्ला ईलाम भएका क्षितिज युवा संघको राजनितिबाटै आएका हुन् । उनी यस अघि एक कार्यकाल उपाध्यक्ष समेत भईसकेका छन् । उपाध्यक्ष तथा महासचिव दुवै पदमा एक–एक कार्यकाल पुरा गरिसकेकाले आफुले संघको नेतृत्वका लागि दावि गरेको क्षितिज बताउँछन् ।
‘उपाध्यक्ष तथा महासचिव दुवै पदमा एक–एक कार्यकाल पुरा गरिसकेकाले म स्वभावैले अध्यक्षको बलियो दावेदार हुँ । यद्यपी अरु साथीहरुले पनि आफ्नो आकाँक्षा व्यक्त गर्नुभएको छ । सकेसम्म सहमति मै गरौं भन्ने हो । त्यसो हुन नसके लोकतन्त्रले दिएको निर्वाचन प्रक्रिया त छँदै नै छ ।’–उनले भने ।
थेवे सँगसँगै काभ्रेका अमित लामा, मोरङकी अन्जना अधिकारी तथा म्याग्दीका सन्तोष रावल समेत अध्यक्षका आकाँक्षी हुन् । काभ्रेका अमित लामा युवा संघको राजनितिबाट आएका हुन् भने, अन्जना र सन्तोष अखिलको राजनितिबाट आएका हुन् ।
नेतृत्वमा जान ईच्छुक चारैजनालाई एमाले पाटी नेतृत्वले सकेसम्म मिलाएर सर्वसहमतिमै नेतृत्वमा लैजाने पाटीका केन्द्रिय नेताहरुले बताएका छन् । यता संघको महत्वपुर्ण अर्को पद महासचिवमा भने एमाले पाटी नेतृत्वले अध्यक्षमा अटाउन नसकेका व्यक्तिहरुलाई महासचिव तथा उपाध्यक्षमा व्यवस्थापन गर्ने बताएको छ ।
राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनका सन्दर्भमा पार्टीमा भएको गुट–उपगुट बारे कालपृष्ठसँग कुरा गर्दै पार्टीका केन्द्रिय सदस्य तथा बाँके जिल्ला ईन्चार्ज सुर्य ढकालले कुनैपनि गुट–उपगुट नभई आकाँक्षीहरुले आफ्नो दावेदारी मात्रै प्रस्तुत गरेको बताउँछन् ।
‘गुट–उपगुटका सवालमा पाटीमा नेतृत्वभन्दा फरक कुनैपनि समुह छैन । जहाँसम्म उपाध्यक्ष विष्णु पौडेल तथा महासचिव शंकर पोखरेल लगायतका नेतृत्वहरुको कुरा छ । उहाँहरु गुट–उपगुट बनाउने प्रकृतिको व्यक्ति नै होईन ।’–उनले भने । ‘आकाँक्षीहरुले आफ्नो दावेदारी प्रस्तुत गर्नुभएको छ । त्यसमा हामी आयोजकका नाताले सकेसम्म सहमतिमै नेतृत्व छनोट होस भन्ने चाहान्छौं । बाँकी निर्वाचन प्रक्रियामा जाने की सर्वसहमतिमा जाने भन्ने कुरा त पाटी नेतृत्व र आकाँक्षीहरुले गर्ने कुरा हो ।’
बाँके जिल्ला आफैमा पनि देशको राष्ट्रिय राजनितिमा महत्वपुर्ण भुमिका खेल्दै आएको जिल्ला हो । यसर्थ, यस अधिवेशनमा बाँकेबाट कतिजना पदाधिकारी तथा सदस्य केन्द्रमा जाने अवसर पाउलान, भन्ने कुरालाई पनि यस क्षेत्रले महत्वपुर्ण रुपमा हेरेको छ ।
राष्ट्रिय युवा संघ नेपालका लुम्बिनी प्रदेश संयोजक खेमराज शर्मा बाँकेबाट केन्द्रिय सचिव पदका आकाँक्षी हुन् ।
आफुहरुलाई कम्तिमा पनि एक जना पदाधिकारी र तिन जना केन्द्रिय सदस्य दिनका लागि पाटी नेतृत्वसँग छलफल गरिरहेको एमाले नेता ढकाल बताउँछन् ।
सृजनात्मक तरिकाले संघलाई थप गतिशील बनाउँदै सकारात्मक परिवर्तनका लागि युवाहरुले महत्वपुर्ण भूमिका खेल्न सक्छन् । यसका लागि सोहीअनुसारको नेतृत्व र टीम आवश्यक हुन्छ । यसर्थ देशभरबाट संगठित सदस्यको प्रतिनिधित्व गरेर आउने प्रतिनिधि र नेता कार्यकर्ताले कुशल नेतृत्व र समुह चयन गर्न आवश्यक छ ।