बर्दियाली कलाकार समाजको अध्यक्षमा कमल, महासचिवमा वाग्ले
Sunday, April 9th, 2023, 8:47 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, २६ चैत
नेपाली कला, भाषा, साहित्य, गीत, संगीत र संस्कृतिका विविध विधामा क्रियाशील बर्दियाली कलाकर्मीहरुको हकहित र संरक्षण गर्ने उद्देश्यका साथ स्थापित बर्दियाली कलाकार समाजको प्रथम साधारण सभा गत शनिबार सम्पन्न भएको छ । बौद्ध टुसाल स्थित वरघर थारु रेस्टुरेन्टमा आयोजित संस्थाको प्रथम साधारण सभाबाट लोक गायक तथा संगीतकार कमल बिसी माल्दाईको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिती चयन गरिएको हो ।
समाजको उपाध्यक्षमा गायिका पुर्णकला बिसी, महासचिवमा गायक तथा संगीतकार बिपी वाग्ले, सचिवमा गायक आरके थारु, कोषाध्यक्षमा गायिका अनिता चलाउने, सह–कोषाध्यक्षमा चर्चित मोडल अञ्जली अधिकारी निर्बिरोध निर्बाचित भएका छन् ।
यसैगरी सदस्यहरु मोडेल टिका जैसी, कलाकार नरेश एमसी, म्युजिसियन सन्देश अधिकारी, कोरियोग्राफर अभिषेक वाग्ले, मोडेल अस्मिता पुरी, मोडेल प्रिजोल भण्डारी, गायक गगन बहादुर सिंह, हास्यकलाकार युद्ध मगर, कलाकार महिमा कुश्मि, कलाकार केशब शाही र कलाकार राजेश थारु समेत निर्वाचित भएका छन् ।
निर्वाचन मंडलको संयोजकमा संस्थाका कानूनी सल्लाहकार अधिवक्ता राजेन्द्र शर्मा, निर्वाचन अधिकृतमा गायक र संगीतकार भद्र वली एवम संगीतकार कमल अधिकारीलाई आयोजकको तर्फबाट जिम्मेवारी दिईएको थियो ।
बर्दिया जिल्लाबाट प्रतिनिधित्व गर्दै कलाकारिता जगतमा स्थापित भएका तथा स्थापित हुन सँघर्षरत कलाकर्मीहरु साधारण सभामा सहभागि भएका थिए । बर्दियावासी कलाकारको साझा संगठन बर्दियाली कलाकार समाजको प्रथम साधारण सभामा करिब २ सय जना भन्दा बढी बर्दियाबासी तथा बर्दिया जिल्लासंग नाता जोडिएका गीत संगीत, कला प्रेमी महानुभावहरुको उपस्थिती रहेको थियो ।
साधारण सभालाई उदघाटन सत्र र बन्द सत्र गरी दूई भागमा विभाजन गरिएको थियो । कार्यक्रमको पहिलो सत्रमा भूमि व्यवस्ता, सहकारी तथा गरिबि निवारण मन्त्रालयका मन्त्री रन्जिता श्रेष्ठ चौधरी प्रमुख अतिथीको रुपमा सहभागि भईन् । पूर्व सिंचाई मन्त्री सन्जय गौतम, निवर्तमान खानेपानी मन्त्री अब्दुल खान, शान्ति चौधरी, नागरिक उन्मुक्ति पाटीकी केन्द्रिय सदस्य सोमति थारु, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका केन्द्रिय महासचिव शिब हमाल विशिष्ट अतिथिका रुपमा सहभागि भए ।
कार्यक्रममा कलाकार समाजलाई सहयोग गर्ने विभिन्न ब्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य तथा पुर्व सिचाई मन्त्री संजय गौतमले आफु अभिभावक भएर बर्दियाली कलाकार समाजलाई सधैं साथ र सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे । पुर्व खानेपानी मन्त्री अब्दुल खानले राष्ट्रको पहिचान कला क्षेत्रबाटै हुने भएकोले राज्यले नै कलाकार क्षेत्रको बिकासमा ठोस कदम चाल्नु पर्ने बताए ।
यसैगरी समाजका अध्यक्ष कमल बिसीले कलाकारका हकहितमा काम गर्न र सुख दुखमा एकले अर्कोलाई सहयोग गर्न कलाकारहरु एकजुट हुनुपर्नेमा जोड दिए । कार्यक्रमको सहजीकरण महासचिव बिपि वाग्लेले गरेका थिए ।