नेपालगन्जमा क्रिकेटको वातावरण निकै राम्रो छः कप्तान रोहित
Monday, April 10th, 2023, 8:28 pm
Kalpristha
नयाँ खेलाडीले सफलता प्राप्त गर्नको लागि कडा मिहिनेत आवश्यक पर्छ । त्यस बाहेक अतिरिक्त परिश्रम पनि गर्नु पर्ने हुन्छ । अनुशासित भएर मिहिनेत गरिरहनु पर्छ । धेर्यता पनि राख्नु पर्छ । भन्ने बित्तिकै नतिजा आउँदैन । धैर्यता राख्दैं मिहिनेत गरिरहनु पर्छ ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २७ चैत
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले सोमबार नेपालगन्जमा क्रिकेट पदाधिकारी र खेलाडीसँग भेटघाट गरेका छन् । सोमबार रोहित व्यक्तिगत सम्मान कार्यक्रमको लागि नेपालगन्ज आएका थिए । उनलाई राष्ट्रिय युवा संघ नेपालले नवौं महाधिवेशनको अवसरमा सम्मान गरेको थियो । सोमबार बिहान युवा संघको कार्यक्रममा आएपनि रोहितले केहि समय क्रिकेट संघका पदाधिकारी र खेलाडीसँग भेटघाट गर्नमा खर्चेका थिए ।
कप्तान रोहितले यहाँका क्रिकेट पदाधिकारी र खेलाडीहरुसँगको भेटघाटका क्रममा क्रिकेटको विकासका कुराकानी गरेका थिए ।
रोहितलाई लुम्बिनी तथा कर्णाली प्रदेश क्रिकेट संघका अध्यक्ष दुर्गा थापा, बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष सरोवर प्रसाई, नेपाल खेलकुद पत्रकार मन्चका पुर्व केन्द्रिय सदस्य कमल खत्रीले स्वागत गरेका थिए । रोहितले आफना सहकर्मी प्रनित थापा मगरसँगै अन्य क्रिकेट खेलाडीहरु क्षितिज थापा मगर, सुस्मिता बजगाई, बिमला श्रेष्ठ लगायतसँग भेटेका थिए ।
भेट्घाटका क्रममा कप्तान रोहितले नेपालगन्जमा क्रिकेटको निकै राम्रो वातावरण देखेको बताए । उनले भने,‘नेपालगन्जमा क्रिकेटको वातावरण निकै राम्रो छ । त्यही भएर यहाँबाट राम्रा खेलाडी उत्पादन भैरहेका छन् । क्रिकेटको लागि नेपालगन्ज निकै महत्वपुर्ण सहर हो । यहाँको वातावरण मलाई मन पर्छ ।’
छोटो भेटघाटका क्रममा उनले नयाँ खेलाडीलाई सफलता हासिल गर्नका लागि प्रोत्साहित गरेका थिए । नयाँ खेलाडीलाई सम्बोधन गर्दै उनले भने, ‘नयाँ खेलाडीले सफलता प्राप्त गर्नको लागि कडा मिहिनेत आवश्यक पर्छ । त्यस बाहेक अतिरिक्त परिश्रम पनि गर्नु पर्ने हुन्छ । अनुशासित भएर मिहिनेत गरिरहनु पर्छ । धेर्यता पनि राख्नु पर्छ । भन्ने बित्तिकै नतिजा आउँदैन । धैर्यता राख्दैं मिहिनेत गरिरहनु पर्छ ।’

………….
नेपालगन्ज भन्ने बित्तिकै आफुले क्रिकेटले चिन्ने गरेको कप्तान रोहितले बताए । उनले थपे, ‘नेपालगन्ज भन्ने बित्तिकै क्रिकेटले चिनिन्छ । म आठौं राष्ट्रिय खेलकुदको दौरान यहाँ क्रिकेट खेल्न आएको थिए । त्यतिबेला आर्मीबाट खेलेको थिए ।’ लुम्बिनी तथा कर्णाली प्रदेश क्रिकेट संघका अध्यक्ष दुर्गा थापाले रोहित नेपालगन्ज आउनु आफुहरुका लागि गर्वको कुरा भएको बताए । उनले भने, ‘पुर्व योजना बिनै एक्कासी भेटघाट भयो । हामीले केहि तयारी गर्न पाएनौं । तर छोटो समयमा भएपनि महत्वपुर्ण कुराकानी भयो ।’ बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष प्रसाईले रोहित सफलताले नयाँ खेलाडीलाई प्रेरणा दिने बताए ।

………….

……………