‘नेकपा एमाले सशक्त अनुशाशित युवाको पार्टी हो’
Tuesday, April 11th, 2023, 7:46 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २७ चैत
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले जेष्ठ नागरिकदेखि युवासम्मको पार्टी भएको बताएका छन् । राष्ट्रिय युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनलाई सोमबार नेपालगन्जमा सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् । उनले भने, ‘नेकपा एमाले लौरो टेक्ने ज्येष्ठ नागरिकको मात्र होइन सशक्त अनुशाशित युवाको पनि पार्टी हो । युवाहरूले इतिहास होइन भविष्यको कुरा गर्नु र सोच्नु पर्छ ।’ उनले भविष्यको तयारी, काम, आन्दोलन, संकल्प, योजना र अनुशासनको कुरा गर्नुपर्नेमा जोड दिए ।
युवाले भविष्य कस्तो बनाउने भन्ने कुरा सोच्नु पर्ने ओलीले बताए । युवाहरू सूर्य जस्तै अनुशासित हुनु पर्नेमा उनको जोड थियो । अनुशासनमा नबस्ने व्यक्ति र संगठन कुबाटोमा जाने ओलीले प्रष्ट पारे । ओलीले देशमा अहिले विभिन्न विकृति र विसङ्गति भए पनि त्यसलाई रोकेर देशलाई ओरालो लाग्नबाट बचाउन सकिने बताउदै काम गर्न सकिन्छ भन्ने कुरा एमालेले छोटो समयमा नै प्रमाणित गरिसकेकोमा उनले जोड दिए । युवालाई देशमा नै बसेर शिक्षा, स्वास्थ्य, रोजगारीको अवसर एमालेले सिर्जना गर्ने ओलीले बताए । विदेशमा रहेको नेपाली युवालाई छिट्टै घर फर्कने वातावरण बनाउने ओलीको भनाई थियो ।
सोहि अवसरमा बोल्दै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सही विचार र सक्षम नेतृत्वले मात्र संगठनलाई अघि बढाउन सक्ने बताए । पौडेलले सबै कुरा हुँदा पनि नेतृत्व सही भएन भने संगठन गन्तव्यमा नपुग्ने बताए ।
राष्ट्रिय युवा संघ नेपाललाई सही गन्तव्यमा पुर्याउन महाधिवेशनले सही नेतृत्व छान्ने पौडेलले विश्वास व्यक्त गरे । युवा संघले सबैविधाका युवालाई नेतृत्व दिन सक्ने उनले प्रष्ट पारे । सबै सृजनशील युवाको आशा र भरोसाको केन्द्र राष्ट्रिय युवा संघ नेपाल हुने पर्नेमा जोडदिंदै नेता पौडेलले हरेक वर्ग, क्षेत्र र समुदायका युवाको प्रतिनिधित्व राष्ट्रिय युवा संघ नेपालले गर्नुपर्ने कुरा उल्लेख गरे । ‘अनेक विधाका युवाको नेतृत्व राष्ट्रिय युवा संघ नेपालले गर्नुपर्दछ ।’– उनले भने । देशलाई जुन हिसाबले अघि बढाइँदै छ त्यसको विरुद्व राष्ट्रिय युवा संघ नेपाल रातो फेटा बाँधेर सडकमा निस्कनु पर्ने अवस्था आउने उनले बताए ।
‘राष्ट्र, राष्ट्रको स्वाभिमान र देशको रक्षाको निम्ति राष्ट्रिय युवा संघ नेपाल टाउकोमा कफन बाँधेर सडकमा उत्रिनुपर्ने स्थिति आउन सक्छ ।’–उनले भने । पौडेलले वर्तमान आपराधिक गठबन्धनको विरुद्व सडकमा उत्रनु पर्ने अवस्था आउने बताउँदै त्यसको लागि तयार गर्नुपर्ने बताए । उनले अहिलेको गठबन्धन एमालेको विरुद्वको गठबन्धन भएको भन्दै एमाले सबै खालका गठबन्धनलाई एक्लै परास्त गर्न सक्षम रहेको दावि गरे । साथै उनले अस्थिरताको चक्रव्यूहमा मूलकलाई लैजाने काम यही गठबन्धनले गरेको उल्लेख गरे ।
एउटा दलले एकल बहुमत नल्याएसम्म देशमा स्थिरता नआउने बताउदै उनले देशमा एकल बहुमतको सरकार एमाले बाहेक अरूले बनाउन नसक्ने दाबी गरे । यसै सन्दर्भमा नेकपा एमालेका महासचिव शंकर पोखरेलले जतिबेला नेपाली जनालाई संकट पर्दछ त्यतिलबेला राष्ट्रिय युवा संघ नेपाल जनताको पक्षमा खरो ढंगमा प्रस्तुत हुने संगठन भएको बताएका थिए । राष्ट्रिय युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनलाई सोमबार नेपालन्जमा सम्बोधन गर्दै पोखरेलले नेपालमा राष्ट्रिय युवा संघ नेपालले गौरवशाली भूमिका खेलेको बताए । पोखरेलले राष्ट्रिय युवा संघ नेपाललाई संगठनको विरासतलाई अझ अघि बढाउन शुभकामना दिए ।
नेकपा गठन पछि पार्टी संगठन चलायमान हुन नसक्दा नेपालका युवा पुस्ता राजनीतिबाट नै पलायन हुने अवस्था आएको बताउदै उनले यसबाट अवसरवादीले टाउको उठाउने मौका पाएको बताए । मुलुकलाई स्थायित्व तर्फ लैजानको लागि नेकपा एमाले अझै बलियो हुन आवश्यक रहेको पोखरेलले बताएका थिए । यसको लागि युवाको बिचमा नेकपा एमालेलाई अझ सशक्त रूपमा पुर्याउन जरुरी रहेको पोखरेलको भनाइ छ ।
देशमा रहेको राजनीतिक अस्थिरता, अराजकता, कुशासन अन्त्यको लागि नेकपा एमालेले जित्नु पर्ने पोखरेलले बताए । सामाजिक अराजकताले नेपालको सामाजिक मूल्य मान्यतालाई कमजोर बनाउँदै लगेको भन्दै नेपाली समाजलाई विभाजित गर्नको लागि अनेक प्रयास भइरहेको प्रति पोखरेलले आलोचना गरे । ‘नेपाली समाजलाई सही ढंगले अघि बढाउने सामथ्र्य नेकपा एमालेसँग मात्र छ ।’–उनले भने ।
मुलुकलाई विकास र समृद्विको बाटोमा लैजाने अग्रणी पार्टीको रूपमा नेकपा एमालेले आफूलाई स्थापित गरेको उनले प्रष्ट पारे । ‘विकास र समृद्विका सवालमा एमालेलाई कसैसँग तुलना गर्न सकिँदैन ।’– उनले भने ।
नेकपा एमालेलाई एक्लो बनाएर दश दलको सरकार बन्दा त्यसको लाभ एमालेलाई भएको उनले बताए । ‘हाम्रा लागि त भविष्यको सुनौलो बाटो तय भएको छ, नौ दल, दश दल मिलेर सरकार बनाए भने यो मुलुकमा एकैचोटी नौ दल, दश दल असफल हुने छन्, त्यस पछि जनताको रोजाइको लागि एउटै पार्टी बाँकी रहने छ, त्यो भनेको नेकपा एक्लै मात्र हुने छ ।’–पोखरेलले भने । उनले नेपाली काँग्रेस र नेकपा एमाले गरि दुईवटा पार्टीले मात्रै नेपालमा बहुमत ल्याउन सक्ने बताए ।
युवा संघ नेपालका अध्यक्ष किरण पौडेलको अध्यक्षतामा भएको उद्घाटन समारोहमा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल,स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, पोलिटब्यूरो सदस्य तथा युवा सङ्घका इन्चार्ज महेश बस्नेत, केन्द्रीय सदस्य निरु पाल, सुर्य ढकाल, अनेरास्ववियुका अध्यक्ष समिक वडाल, युवा संघका उपाध्यक्ष क्रान्ति बुर्लाकोटी, महासचिव क्षितिज थेवे लगायतले शुभकामना ब्यक्त गरेका थिए ।
नयाँ नेतृत्व चयन गर्दै चैत २९ गते महाधिवेशन सम्पन्न हुनेछ । महाधिवेशनमा करिब दुई हजार प्रतिनिधीको सहभागिता रहेको छ । सो अवसरमा युवा संघले एकलाख नगद राशीको ‘केपी ओली युवा प्रतिभा पुरस्कार’बाट नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई प्रदान गरेको छ ।
दल बहादुरले फेरी गरे पार्टी परिवर्तन
एक वर्षको दौरान दलबहादुर सुनारले दुई पटक पार्टी प्रवेश गरेका छन् । एमालेबाट एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका दलबहादुर प्रदेश र संघको निर्वाचनको दौरान माओवादी केन्द्रमा प्रवेश गरेका थिए । तर पाँच महिनाको अन्तरमा उनले फेरी पार्टी परिवर्तन गर्दै एमालेमा प्रवेश गरे । अवसरमा पुर्व राज्य मन्त्री समेत भईसकेका नेता दल बहादुर सुनार लगायत ४३ जनाले सोमबार नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा फुट पछि जन्मिएको पाटी नेकपा एकीकृत समाजबादीका तत्कालिन पोलिटब्युरो सदस्य समेत रहेका नेता सुनार गएको संघ र प्रदेशको निर्वाचन ताका माओवादीमा प्रवेश गरेका थिए । बाँके क्षेत्र नम्बर ३ (क)बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका उनी पराजित भएका थिए ।