युवा संघको नयाँ नेतृत्व चयनमा सकस
Wednesday, April 12th, 2023, 9:43 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २९ चैत
राष्ट्रिय युवा संघ नेपालको नवौ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । बुधबार दिउँसो निर्वाचन मण्डलले मनोनयन दर्ताका लागि दिएको समयमा १७ केन्द्रिय पदाधिकारी तथा नौ जना विभिन्न आयोगका पदाधिकारी र सदस्य गरि दुई सय ५१ पदका लागि पदाका लागि मनोनयन दर्ता भएको छ ।
सर्वसम्मत नेतृत्व छनोटको प्रयास भएको हो । तर, सर्वसम्मत हुन नसकेकाले हामी निर्वाचन प्रक्रिया मार्फत नेतृत्व छनोट गर्ने तयारी भई रहेको छ ।
संघको अध्यक्षमा क्षितिज थेवे र सन्तोस रावलले उम्मेदवारी दिएका छन् । गृह जिल्ला ईलाम भएका क्षितिज युवा संघको राजनितिबाटै आएका हुन् । उनी यस अघि एक कार्यकाल उपाध्यक्ष समेत भईसकेका छन् । थेवेले उपाध्यक्ष तथा महासचिव दुवै पदमा एक–एक कार्यकाल पुरा गरिसकेका छन् । म्याग्दीका सन्तोष रावल भने अखिलको राजनितिबाट आएका हुन् ।
खुला उपाध्यक्षमा कृष्णहरी केसी, प्रकाश गौतम तथा विष्णुहरी त्रिपाठीले उम्मेदवारी दिएका छन् । उपाध्यक्ष महिलामा सीता सुवेदी तथा सुमित्रा बोगटीले उम्मेदवारी दिएका छन् । भने समावेसी उपाध्यक्षमा पुष्पराज श्रेष्ठ तथा अमित लामाले उम्मेदवारी दिएका छन् ।
यस्तै महासचिवमा सुमन पुरी तथा अन्जना अधिकारीले उम्मेदवारी दिएका छन् । उप–महासचिवमा प्रकाश लामिछाने तथा कुवेर अधिकारीले उम्मेदवारी दिएका छन् ।
भुगोल, महिला, तथा मधेसी गरि नौ वटा सचिवका लागि २५ जनाको उम्मेदवारी परेको छ । यता संघका विभिन्न आयोगहरु मध्ये अनुशासन आयोगको अध्यक्ष र सचिवमा २–२ जनाको उम्मेदवारी परेको छ । लेखा आयोगको अध्यक्ष, उपाध्यक्ष र सचिवमा २–२ जनाको उम्मेदवारी परेको छ । यसैगरि निर्वाचन आयोगको अध्यक्ष र उपध्यक्षमा ३–३ जनाको उम्मेदवारी परेको छ ।
महाधिवेशनमा भाग लिन देशभरबाट आएका दुई हजार बढि युवा प्रतिनिधि नेपालगन्ज आएका छन् । महाधिवेशनले समग्र युवा आन्दोलनको समिक्षा गर्दै नयाँ नेतृत्व चयन गर्नुका साथै युवालाई सामाजिक रुपान्तरण गर्न मार्गनिर्देश गर्ने छ ।
अधिवेशनबाट नयाँ नेतृत्व समेत चुनिने भएकाले यस आयोजनालाई महत्वपुर्ण दृष्टिकोणले हेरिएको छ भने, पदाधिकारीका आकाँक्षीहरु नतिजा आफ्नो पक्षमा पार्नका लागि प्रयासरत छन् ।
यो समाचार तयार पार्दासम्म मनोनयन दर्ता भएर उम्मेदवारहरु दावि विरोध प्रक्रियामा थिए ।
निर्वाचनको प्रक्रिया अगाडी बढेको संघका पुर्व प्रवक्ता महाराज गुरुङले बताए । उनले भने, ‘हामी दावि विरोध प्रक्रियामा छौं । निर्वाचन मण्डलले परेका उम्मेदवारी माथि छानविन गरिरहेको छ । उम्मेदवारहरुसंग छलफलमै छौं । छलफलबाट समाधान ननिस्केको खण्डमा आज रातिसम्म हामी निर्वाचनमा जान्छौं । यद्यपी सकेसम्म सहमति गर्ने प्रयास भने रहनेछ ।’