हतियार सहित चक्रे मिलनका सहयोगी पक्राउ
Wednesday, April 12th, 2023, 9:44 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २८ चैत
चक्रे मिलन भनिने मिलन गुरुङको सुरक्षामा हतियार सहित हिडेका गणेश बहादुर बोगटीलाई बाँके प्रहरीले पक्राउ गरेको छ । नेपालगन्जको एक होटलमा चक्रे मिलन सहितको एक समुह हतियार सहित सार्वजनिक रुपमा हिडेको भिडियो टिकटक मार्फत सार्वजनिक भएको थियो । उक्त भिडियोमा चक्रे मिलनसँग राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ अध्यक्ष ज्ञानु ओली सहितका युवाहरु देखिएका छन् । प्रारम्भिक अनुसन्धान गर्दा बोगटीले बोकेको हतियार ‘पोइन्ट टुटु’ बन्दुक रहेको बुझिएको छ ।
हतियार सहित बिना उद्देश्य हिडेको भिडियो सार्वजनिक भएपछि बोगटीलाई पक्राउ गरिएको बाँकेका एसपी सन्तोष सिंह राठौरले बताएका छन् । पक्राउ पर्ने युवा पनि बाँकेकै हुन् । उनले पोइन्ट टुटु हतियार बोकेर हिडेको भिडियोमा देखिएको प्रहरीले बताएको छ । बाँके जिल्ला प्रहरी कार्यालयको टोलीले बोगटीलाई प्रक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेको बताएको छ । गुन्डागर्दीमा संलग्न भएको आरोप लाग्दै आएका चक्रे मिलन सार्वजनिक रुपमा हतियार सहितका युवाहरुको साथमा नेपालगन्जमा देखिएको बारेमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
उनी नेपालगन्जमा राष्ट्रिय युवा संघ नेपालको नवांै महाधिवेशनमा आएको प्रहरीले बताएको छ । तर उनी महाधिवेशनमा स्थलमा गएका थिएनन् । गुन्डागर्दीमा संलग्नहरुले यसरी सार्वजनिक रुपमा ठुलो हतियार लिएर सार्वजनिक भएको पहिलो घटना हो । बन्दुक सहित आफना सहयोगीहरुसँग हिडेको भिडियो टिकटकमा भाइरल भएपछि चक्रे मिलन विवादमा तानिएका छन् । बन्दुक लिएर सार्वजनिक रुपमा हिडदा समेत प्रहरीले वास्ता नगरेको आरोप लागेको थियो । पछि बोगटीलाई प्रहरीले चिसापानीबाट पक्राउ गरेको थियो । बेलाबेला डनहरूले विभिन्न देशका पेस्तोलहरू प्रयोग गरेका घटनाहरू सार्वजनिक हुने गरेका छन् । नेकपा एमालेको जनवर्गीय संगठन युवा संघको महाधिवेशनमा भाग लिन दलबलसहित पुगेका चक्रे मिलन नेपालगन्ज आएका थिए ।
काठमाडौंको चक्रपथ र ठमेल क्षेत्रमा गुन्डागर्दी गर्ने, त्यहाँ सञ्चालनमा रहेका होटल, रेस्टुरेन्ट र म्यानपावर कम्पनीलाई आफ्नो हातमा लिएर हप्ता उठाउँदै आएका चक्रे मिलन आफ्नो सुरक्षामा खटिएका युवकसँग होटलबाट निस्कँदै गरेको भिडियो सोमबार दिउँसो बाहिरिएको थियो । ‘ज्ञानेन्द्र वली ५७’ नाम राखेर टिकटकबाट भिडियो सार्वजनिक गरिएको थियो । पछि उक्त भिडियो हटाइएको छ । यसअघि प्रहरीले काठमाडौंका गुन्डाहरूबाट बेलाबखत चाइनिज पेस्तोल तथा अन्य साना हतियारहरू बरामद गरे पनि यसरी ठुला तथा आधुनिक हतियार भने देखिएको थिएन ।
सशस्त्र द्वन्द्व गरिरहेका बेला माओवादी लडाकु र नेपाली सेनाले यस्तो हतियार प्रयोग गर्दै आएका थिए । तर चक्रे मिलनका साथमा सो हतियार कसरी आइपुग्यो भन्ने विषयमा नेपाल प्रहरी पनि अनभिज्ञ देखिएको छ ।
नेपाल प्रहरीका प्रवक्ता डिआइजी पोषराज पोखरेलले कानुनी प्रक्रिया पूरा गरेर हतियार लिइएको भए पनि प्रदर्शन गर्न नपाइने स्पष्ट पार्दै कस्तो हतियार के प्रयोजनका लागि देखाइयो भन्ने बारेमा अनुसन्धान गरिरहेको बताए ।
गुन्डा नाइकेहरू ‘घैंटे’भनिने कुमार श्रेष्ठ र ‘चरी’भनिने दिनेश अधिकारी प्रहरी इन्काउन्टरमा मारिएपछि गुन्डागर्दी हटेको भनिएको थियो । त्यसपछि स्वयं चक्रे मिलन पनि गुमनाम बसेका थिए । तर अहिले उनका केही गतिविधि अस्वाभाविक देखिएको प्रहरीको भनाइ छ ।
२०७४ सालपछि उनी प्रहरीको नियन्त्रणमा छैनन् । २०७४ वैशाखमा तत्कालीन महानगरीय प्रहरी अपराध महाशाखाले काठमाडौंको चक्रपथस्थित उनकै घरमा गएर चक्रे मिलनलाई पक्राउ गरेको थियो । स्थानीय चुनावको सुरक्षामा प्रभाव पार्न सक्ने भन्दै महाशाखाले उनलाई पक्राउ गरेको थियो । त्यसपछि प्रहरीले सामान्य कागज गरेर छाडिएका उनीमाथि अहिले भने सामान्य निगरानी पनि नराखिएको अवस्था छ ।
२०७१ सालमा चक्रे मिलन सम्पत्ति शुद्धीकरणको मुद्दामा १ करोड धरौटी बुझाएर छुटेका थिए । तनहुँको व्यास नगरपालिकास्थित अर्कैका नामको जग्गा धरौटीमा राखेर उनी छुटेका थिए । सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतले २०७० जेठ अन्तिम उनीसँग १ करोड धरौटी मागेको थियो । तर लागुऔषधको मुद्दामा केन्द्रीय कारागारमा थुनामा रहेका कारण उनले धरौटी बुझाएनन् । थुना छुटेलगत्तै १ करोड धरौटी राखेका उनलाई सम्पत्ति शुद्धीकरणको मुद्दामा सर्वोच्च अदालतले सफाइ दिइसकेको छ । चक्रे मिलनलाई विभागले १४ करोड रूपैयाँ बराबरको सम्पत्ति अवैध रूपमा आर्जन गरेको अभियोग लगाएको थियो ।