नेपालको सरोज टेबलटेनिसलाई आइटीटीएफको साथ
Thursday, April 13th, 2023, 1:08 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३० चैत
अन्तराष्ट्रिय टेबल टेनिस महासंघ फाउन्डेसन जर्मनीले सरोज टेबलटेनिस–४ अल क्लब नेपाललाई सहयोग गरेको छ । सम्झौता अनुसार क्लबका प्रशिक्षक नरेश रावल र लिएन्ड्रो ओल्भेच आइटीटीएफ फाउन्डेसन जर्मनीका निर्देशकले हस्ताक्षर गरेका छन् । क्लबले आईआईटीएफ फाउन्डेसनबाट टेबल टेनिसका लागि ब्याट, बल लगायतका सामाग्री प्राप्त गरेको छ ।
स्ट्याग प्रशिक्षक नरेश रावलले नेपालमा अप्रिल महिनामा ‘विश्व टेबल टेनिस दिवस–२०२३’ अन्तराष्ट्रिय कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेका छन् । रावल अन्तराष्ट्रिय टेबल टेनिस महासंघ(लेभल–२) टेबलटेनिस प्रशिक्षक, अन्तराष्ट्रिय अम्पायर तथा टेबल टेनिसका पुर्व राष्ट्रिय खेलाडी हुन् ।
रावलले आइटिटिएफ फाउण्डेशन जर्मनीको ‘थिङ सस्टेनेबल एक्ट नाउ’ भन्ने नाराका साथ १७ अप्रिल देखि २३ अप्रिल एक साताको कार्यक्रम संचालन गर्ने तयारी गरिरहेको बताए । उक्त कार्यक्रममा करिब १ सय खेलाडीको सहभागिता रहनेछ । रावलले यसअघि पनि उक्त कार्यक्रम सन् २०२१ र २०२२ मा सफलता पुर्वक सम्पन्न गरेका थिए । क्लबले विगत तिन वर्ष देखि आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई टेबल टेनिस प्रशिक्षण, प्रशिक्षण सामाग्री लगायत निःशुल्क रुपमा सहयोग गर्दै आएको छ ।
साता व्यापी कार्यक्रम अन्तर्गत छात्र–छात्राहरुको लागि एक हप्ताको प्रशिक्षण, छात्र–छात्राहरुको विभिन्न उमेर समुहका लागि यु–१२, यु–१४ र यु–१६ लगायतका प्रतियोगिता, विभिन्न विधाका विजेता र उप–विजेताहरुलाई पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र वितरण, सहभागी स्वयसेवक र अतिथिहरुलाई टिर्सट, ब्याट, बलहरु वितरण लगायतका कार्यक्रम हुने रावलले बताए ।
आइटीटीएफ फाउण्डेसन जर्मनले आफनो क्लबलाई विश्वास गरेर टेबल टेनिसको विकासमा सहयोग गरेको धन्यवाद दिदैं आगामी दिनमा रचनात्मक काम गर्न थप हौसला बढेको प्रशिक्षक रावलले बताए । रावलले भने, ‘यो आइटीटीएफ फाउण्डेसनको धेरै प्रतिष्ठत र महत्वपुर्ण कार्यक्रम हो र म डब्लुटिटीडी–२०२३ कार्यक्रम आयोजना गर्न पाउँदा ज्यादै उत्साही छु । आइटीटीएफ फाउण्डेसन जर्मनी, एन्टा र स्ट्याग इन्टरनेशनललाई सहयोगका लागि धन्यवाद ।’