नगर प्रमुखले ज्यान मार्ने धम्की दिएको पीडितको आरोप
Wednesday, April 19th, 2023, 1:54 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा, ६ वैशाख
त्रिपुरासुन्दरी नगरपालिका–७ छल गाउँका कर्णचन्द्र रोकायाले आफुलाई नगरप्रमुख जनचन्द्र रोकायाले ज्यान मार्ने धम्की दिएको आरोप लगाएका छन् । त्रिपुरासुन्दरी नगरपालिका–७ छलगाउँमै घर भएका ५५ वर्षीय नगरप्रमुख जनचन्द्र रोकाया प्रमुखका छोरा २० वर्षीय बलचन्द्र रोकाया र २४ वर्षीय कृष्ण रोकायाले आफुलाई गाउँनिकाला गर्ने र नमाने मारेर फालि दिने धम्की दिएको पीडितले जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदनमा उल्लेख छ ।
पीडित कर्णचन्द्रले नगरप्रमुखको राजनीतिक विचारधारा भन्दा फरक विचारधारा भएकोले पटक पटक गाउँनिकाला गर्छु यदि नमाने कसैले नदेख्ने गरी मारेर फालि दिन्छौ भनि बाबुछोराले धम्की दिने गरेकाले आफ्नो सुरक्षाको लागि अडियो क्लिपसहित ०७९ माघ १८ गते जिल्ला प्रशासनमा निवेदन दिएका थिए । तर सुनुवाई नभएको उनले गुनासो गरे ।
पीडितले निवेदन दिएको केहि दिनमै तत्कालिन प्रमुख जिल्ला अधिकारी बेदनिधी अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी मिनराज रिजाल दुबैको सरुवा भएकाले निवेदनउपरको सुनुवाईमा केहि ढिला भएको प्रशासनले जनाएको छ ।
सरुवा भएर आउनु भएका नयाँ सहायक प्रमुख जिल्ला अधिकारी देवी ज्ञवालीले आफु आएलगत्तै निवेदन र अडियो क्लिप सहित जिल्ला प्रहरीमा अनुसन्धानको लागि पठाइ सकिएको बताए । कुनैपनि नागरिकलाई गाउँनिकाला गर्न कानूनले दिदैन त्यसैमा पनि नगरप्रमुख जस्तो ब्यक्तिले नागरिकलाई ज्यान मार्ने धम्की दिनु शोभनीय हुदैन पीडितले निवेदन सहित अडियो समेत पेश गरेकाले अनुसन्धान भइरहेको र दोषी ठहरिए कानुनी कारवाही हुने ज्ञवालीले बताए ।
त्रिपुरासुन्दरी नगरपालिकाका नगरप्रमुख रोकायाले पीडित भनिएका रोकायाले राजतिनिक प्रतिसोध साध्न आफुलाई आरोप लगाएको बताए । उनले भने, ‘नाताले मेरा भाई हुन उनी । तर आफुले कुनैपनि किसिमको धम्की नदिएको र राजनीतिक प्रतिसोध साट्न झुट्टो आरोप लगाएर आफुहरु विरुद्ध उजुरी दिए । उजुरीमा सत्यता छैन ।’
सिंगो गाउँलेले पीडित भनिएकालाई गाउँ निकाला गर्नु पर्छ भन्दा आफुले त्यस्तो गर्नु हुदैन भनेर उल्टै सम्झाएको तर मेरा छोराहरुले भने मोवाइलमार्फत केहि भनाभन गरेको सत्य हो उनीहरुले पनि कार्तो तयार गर्नु मारेर फाल्छु नभनेको नगरप्रमुख जनचन्द्र रोकायाले बताए ।
वैशाख ५ गते मात्र आफु विरुद्ध उजुरी परेको कुरा जिल्ला प्रहरी कार्यालय मार्फत प्रहरी चौकी त्रिपुराकोटमा बास्तविकता बुझनु भनि पीडितको निवेदन आएको जानकारी पछि मात्र थाहा भएको पनि प्रमुख रोकायाले मोवाइल मार्फत बताए ।