पुर्व राजाको नेपालगन्ज भ्रमणले गरेको संकेत
Thursday, April 20th, 2023, 4:45 pm
Kalpristha
जनताले गतिलो विकल्प खोजेका छन् भने, सयौं बर्षदेखि चलिआएको आफ्नो विरासत फर्काउने आशा पुर्व राजालाई पनि छ । राजनितिक दलहरुले राम्रो नतिजा दिन सकेका छैनन् । त्यसमाथि झन पुर्व राजाले आफ्ना गतिविधिहरु बढाउदै लगेका छन् । यस अवस्थामा दलहरुले उनका कार्यक्रमहरु प्रभावित पार्नका लागि हदैसम्मको प्रयास गर्न सक्ने सम्भावना छ ।
लक्ष्मी तिमिल्सेना
नेपालगन्ज, ६ बैशाख
‘नागरिक अभिनन्दन’का लागि पुर्वराजा ज्ञानेन्द्र नेपालगन्ज आउने भएका छन् । बैशाख २० गते बुधबार गरिने ‘नागरिक अभिनन्दन’ ग्रहण गर्नका लागि पुर्वराजा ज्ञानेन्द्र शाह नेपालगन्ज आउने भएका हुन् ।
पश्चिम नेपालको विभिन्न जिल्लाको भ्रमणमा निस्किने क्रममा पूर्वराजा ज्ञानेन्द्रसहितका तत्कालीन राजपरिवारका सदस्य नेपालगन्ज आउने अवसर पारेर हिन्दुवादी तथा राजावादीहरुले सो कार्यक्रम तय गरेका हुन् ।
‘नागरिक अभिनन्दन’ ग्रहण गर्नु अघि पुर्व राजा यहि बैशाख १८ गते सोमबार बागेश्वरी मन्दिरमा गरिने नियमित महाआरतीमा सहभागी हुनेछन् । त्यसका लागि पुर्वराजा ज्ञानेन्द्र यहि महिनाको दोस्रो साता नेपालगन्ज आईपुग्ने बताईएको छ ।
‘नागरिक अभिनन्दन’ ग्रहण कै लागि पुर्वराजा ज्ञानेन्द्र नेपालगन्ज आएपनि त्यसका अलावा अन्य कार्यक्रमहरु समेत तय गरिएको रिसिराज देवकोटाले जानकारी दिए ।
‘नागरिक अभिनन्दन ग्रहण पछि पुर्व राजाले यहिँबाट देशबासीका नाममा सम्बोधन गर्ने कुरा छ । त्यसका अलावा साविकका मध्य तथा सुदुरपश्चिम विकास क्षेत्रका विभिन्न स्थानहरुमा भ्रमण तथा भेटघाट कार्यक्रम छ । बाँकी के–के कार्यक्रम हुन्छ, भन्ने कुराको औपचारिक जानकारीको लागि पत्रकार सम्मेलन गरी कार्यक्रमहरुको कार्यतालिका तत्तत् सम्बद्वहरूले सार्वजनिक गर्ने छन् ।’– देवकोटाले भने ।
‘नागरिक अभिनन्दन’ लगायतको अन्य कार्यक्रमहरुको व्यवस्थापनबारे आवश्यक छलफल गर्नका लागि गत सोमबार पुर्वराजा ज्ञानेन्द्रका निजी सचिव सागर तिमिल्सिना नेपालगन्ज आएका थिए ।
विभिन्न समूहसँग छुटाछुट्टै र समूहगत भेटघाट गरेका तिमिल्सिनाले बैशाख १६ गतेदेखि झण्डै एक महिनाका लागि होटल सोल्टीमा पूर्व राजाको परिवार सहित कर्मचारीहरुको बस्ने व्यवस्था मिलाएका छन् ।
पुर्वराजा राजा ज्ञानेन्द्रका निजी सचिव तिमिल्सिना नेपालगन्ज आएको अवसरमा राजतन्त्रका पक्षधरहरूले डाक्टर धवल समशेर राणाको संयोजकत्वमा ‘नागरिक अभिनन्दन मूल समारोह समिति’ घोषणा समेत गरेका छन् ।
१७ गते जुम्ला तथा १८ गते नेपालगन्जको बागेश्वरी मन्दिरमा हुने महाआरतिमा सरिक हुने र २० गते नागरिक अभिनन्दन गरिने कार्यक्रमहरु तय भैसकेको विन्दु चर्ति बताउछिन् ।
चर्तिका अनुसार पुर्व राजपरिवार सम्मिलित हुने सम्पुर्ण कार्यक्रमहरु व्यवस्थापनका लागि राणाको संयोजकत्वमा ११ उप–समितिको गठन भएको छ ।
जसमा स्वागत उप–समिति, मन्च व्यवस्थापन उप–समिति, प्रचारप्रसार उप–समिति, आर्थिक व्यवस्थापन उप–समिति, संघसंस्था समन्वय तथा व्यवस्थापन उप–समिति, धार्मिक समन्वय उप–समिति, स्वास्थ समन्वय उप–समिति, यातायात व्यवस्थापन उप–समिति, स्वयम् सेवक तथा सुरक्षा उप–समिति र अनुगमन उप–समिति गठन गरिएको छ ।
कम्तीमा १ लाख नागरिकले राजालाई नेपालगन्जमा अभिनन्दन गर्ने गरी तयारी अगाडि बढाइएको छ ।
विभिन्न स्थानहरुमा भ्रमण तथा कार्यक्रमहरु तय गरिएपनि पुर्वराजा ज्ञानेन्द्र नेपालगन्जलाइ मुकाम बनाएर करिब एक महिना यहिँ बस्ने बताईएको छ ।
पूर्वराजा ज्ञानेन्द्रसहितका तत्कालीन राजपरिवारका सदस्य नेपालगन्ज आउने भएपछि सो कुराको तयारी र व्यवस्थापनका लागि राजावादी पार्टी, भातृ संगठन, हिन्दुवादी संघ संस्था तथा विभिन्न व्यक्तिहरु जुटेका छन् ।
पूर्वराजा ज्ञानेन्द्रसहितका तत्कालीन राजपरिवारका सदस्यहरुको नेपालगन्ज लगायतका क्षेत्रहरुको भ्रमणले कुटनितिक रुपमा ठुलो महत्व राख्ने राजनितिक विश्लेषक प्राध्यापक डाक्टर जर्नादन आचार्य बताउछन् । सो भ्रमणले नेपालका रानितिक दलहरुको मनमा ढ्याँङ्ग्रो ठोकिएको उनको भनाई छ ।
नेपालमा राजालाई अभिभावक मान्दै आएको पुस्ता पनि भएको उल्लेख गर्दै प्राध्यापक डाक्टर आचार्यले उनिहरुको नजरमा अहिले पनि राजाको महत्वपुर्ण स्थान र सोहि अनुसारको संस्कार पनि रहेको बताए ।
‘पछिल्लो समय नेपाली संकृतिमा ठाडो प्रहार भईरहेको छ । यसबारे नेपाली जनता जानकार छन् । जनता यो कुशासन र वेथिति देखि आजित भईसकेको अवस्था छ । जनताले अव रवि लामिछानेलाई त जिताईसके भने, राजाको त आफ्नै राजनितिक संस्कार र पद्दती छ । यसकारण फेरि राजा आउन सक्ने सम्भावना देखेर दलहरु डराएको अवस्था छ ।’– उनले भने ।
‘जनताले अनुमोदन गरेको खण्डमा आफु फेरिपनि आउने कुरा उनले भन्दै आएको कुरा हो । जनताले गतिलो विकल्प खोजेका छन् भने, सयौं बर्षदेखि चलिआएको आफ्नो विरासत फर्काउने आशा पुर्व राजालाई पनि छ । राजनितिक दलहरुले राम्रो नतिजा दिन सकेका छैनन् । त्यसमाथि झन पुर्व राजाले आफ्ना गतिविधिहरु बढाउदै लगेका छन् । यस अवस्थामा दलहरुले उनका कार्यक्रमहरु प्रभावित पार्नका लागि हदैसम्मको प्रयास गर्न सक्ने सम्भावना छ ।’